टुङ्गो लगाइसक्यौं, सेटिङ मिलाउन मात्रै बाँकी छ– जनार्दन

Advertisement

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टीका नेता जनार्दन शर्माले नेताहरुको व्यवस्थापन गर्नकै लागि अब सचिवालयको सदस्य नबढाउने जिकिर गरेका छन् । उनले सोमबारसम्म पार्टीको स्थायी कमिटि सदस्य र केन्द्रिय सदस्यहरुको टुँगो लाग्ने बताए ।

आइतबार रिपोर्टर्समा शर्माले भने, ‘हामीले केन्द्रीय सदस्यहरु टुँगो लगाईसकेका छौं, खाली सेटिङ्मा राख्नमात्रै बाँकी छ, स्थायी समिति सदस्यहरु पनि हामीले लगभग टुँगो लगाएका छौं, भोलिसम्म केन्द्रिय सदस्यहरुको टुँगो लाग्छ ।’

उनले एमाले–माओवादी एकतापछि बनेको नेकपाको वर्तमान सचिवालय सदस्य संख्या नै काफी रहेको जिकिर गरे । शर्माले भने, ‘सचिवालय सदस्य ९ जना नै काफी छ । अब संख्यामा तलमाथि हुँदैन । त्यो संख्या बढाउन आवश्यक छैन् ।’ आफूलाई सचिवालयमा परेको वा नपरेको भन्नेमा कुनै चिन्ता समेत नरहेको उनको तर्क थियो ।

तपाईं त सचिवालयमा पर्नुभएन नि भनेर सोधिएको प्रश्नमा नेता शर्माले भने, ‘म पदमा छु, म नेकपाको केन्द्रिय सदस्य हुँ । मलाई कुनै पद नै आवश्कता छैन् । म होस् वा नहोस्, यो ठूलो कुरा होइन । पद ठूलो कुरा होइन, काम ठूलो हो । काम गर्दा परिणाम आउनुपर्यो ।’

ठूला–ठूला आविष्कार गर्ने वैज्ञानिकको पनि पद नभएको उदाहरण प्रस्तुत गर्दै उनले भने, ‘त्यसैले पदको चिन्ता छैन् । बरु कामको चिन्ता छ ।’ शर्माले पार्टीमा नेता थुपार्न र पद वितरण गर्नलाई पार्टी एकता नभएको स्पष्ट पारे ।

उनले भने, ‘मुलुकको समृद्धि र आर्थिक रुपान्तरणका लागि एकता भएको हो । त्यसको अनुभूति जनताले चाँडै गर्न पाउँछन् । हाम्रो ध्यान त्यसमै केन्द्रित छ ।’ शर्माले थपे, ‘जनताको एजेण्डा नै दुई दलको एकता थियो । त्यो जनतमतको सम्बोधन हामीले गरेका हौं ।’

उनले पूराना संस्कार, संस्कृति, प्रबृत्ति र मान्यताको अन्त्य नगर्दासम्म समृद्धिको बाटो तय हुन नसक्ने समेत धारणा व्यक्त गरे । नेता शर्माले भने, ‘अब हाम्रो यो सरकारले शिक्षा, स्वास्थ्य लगायतका तमाम क्षेत्रमा रहेका सबैखाले फोहोर सोर्ने काम गर्छ, सबै खाल विकृति तथा विसंगतिहरुको हामी अन्त्य गर्छौं ।’

उनले पूरानो फोहर नसोहर्दासम्म नयाँ कामको शुरुवात गर्न नसकिने बताउँदै भने, ‘वर्तमान सरकारले आफ्नो काम हो, यहीँबाट शुरु गर्छ, अब कर्मचारीले मन्त्री घुमाउने, नेता घुमाउने कामको अन्त्य हुन्छ, अब मन्त्रीको निर्देशनअनुसार कर्मचारीले काम गर्नुपर्छ ।’

Advertisement

Advertisement

Advertisement