नेपाली दुग्ध उत्पादक किसानहरुको हितका लागि अमूललाई रोक्न आग्रह

Advertisement

काठमाडौंः केन्द्रीय दुग्ध सहकारी संघले भारतीय अमूल ब्राण्डको डेरी नेपालमा लगानी गर्न आवश्यक नरहेको बताएको छ । संघले मंगलबार पत्रकार सम्मेलन गरेर नेपालमा उत्पादित दुधले नै आन्तरिक माग धानिरहेको भन्दै बाह्य लगानी जरुरी नरहेको बताएको हो ।

संघका अध्यक्ष नारायण देवकोटाले डेरी उद्योगमा भारतीय प्रविधि नेपाल भित्र्याउन खुला भएपनि भारतीय कच्चा दुधलाई नेपाली बजारमा भित्र्याउन नहुने बताए । उनले नेपाली बजारमा अमूललाई ल्याउन दिने हो भने नेपाली दुग्ध उत्पादकहरु आन्दोलनमा उत्रन बाध्य हुने बताए ।

देवकोटाले अमूललाई नेपाल भित्राउँदा यहाँको अर्बौ रुपियाँको व्यवसाय धरासायी हुनुका साथै नेपाली कृषकहरु मारमा पर्ने तर्क अघि सारे । नेपालको दुधको तुलनामा भारतीय दुध प्रतिलिटर १० रुपियाँ सस्तो रहेकाले भारतीय दुध नेपाल भित्रिए यहाँको उद्योग व्यवसाय नै समाप्त हुने उनले बताए ।

विश्वका ४५ देशमा दुध व्यापार गर्ने अमूलको नेपाल आउने चाहनाले नेपालको दुग्ध व्यवासय समाप्त गर्ने संघको भनाई छ । उसले नेपाली किसानको हितको लागि आवश्यक परे चक्का जामदेखि मिल्क होलीडेसम्मका विरोधका कार्यक्रम ल्याउने चेतावनी दिएको छ ।

Advertisement

Advertisement

Advertisement