प्रदेश ७ मा १९ अर्बको बजेट ल्याउने तयारी

pradesh-7

धनगढीः प्रदेश ७ मा आर्थिक वर्ष २०७५/७६ को बजेट ल्याउने तयारी सुरु भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले प्रस्तुत गर्ने बजेटमाथि प्रदेश सांसदहरूले छलफल गरेका हुन् । उक्त छलफलले करीब १९ अर्ब रुपियाँ बराबरको बजेट ल्याउने तयारी गरेको हो ।

अधिकांश संसदले कृषि, ऊर्जा, जडीबुटी, पूर्वाधार विकासमा केन्द्रित हुने गरी बजेट ल्याउनुपर्ने बताएका छन् । सार्वजनिक लिखित प्रमाणीकरण कार्यविधिको सम्बन्धमा व्यवस्थापनमा बनेको विधेयक २०७५ र स्थानीय तहका सदस्यले पाउने सुविधा सम्बन्ध व्यवस्था गर्न विधेयक २०७५ समेत संसद्मा प्रस्तुत गरिएको जनाइएको छ ।

आइतबार बसेको बैठकमा स्थानीय तहभन्दा प्रदेशको बजेट कम हुनु विडम्बना भएको संसदका रतनबहादुर थापाले बताए । चालू आवको बाँकी अवधिका लागि संसद्मा प्रस्तुत एक अर्ब दुई करोड पाँच लाख रपियाँको बजेट कार्यान्वयनको विषयमा अनभिज्ञता देखापरेको सांसद देवराज पाठकले बताए ।

प्रदेशको धेरै सङ्ख्यामा कृषि पेसामा निर्भर रहेकाले समयमा उन्नत बीउबिजन दिने गरी आगामी बजेट आउनुपर्ने संसदहरुले बताएका छन् ।