नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोडभन्दा बढी, साढे २० प्रतिशतले वृद्धि

Advertisement

काठमाडौंः नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड भन्दा बढी पुगेका छन् । कम्पनीले प्रकाशित गरेको चैत महिनाको एमआइएस रिपोर्टअनुसार डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार छन् ।

सो अनुसार जीएसएम डाटा सेवाका प्रयोगकर्ता ९७ लाख ९५ हजार एक सय, सीडीएमए डाटा सेवाका प्रयोगकर्ता एक लाख ३६ हजार ५ सय, वाइम्याक्स सेवाका १७ हजार र एडीएसएलका एक लाख ९९ हजार सात सय प्रयोगकर्ता छन् ।

२०७४ असार मसान्तसम्ममा कम्पनीको डाटा सेवाका ग्राहक आधार ८४ लाख २५ हजार आठ सय ९४ रहेकोमा २०७४ चैत अन्त्य सम्ममा यो संख्या एक करोड एक लाख ५४ हजार पुगेको छ । यस अनुसार २०७४ असारसम्मको ग्राहक आधारको तुलनामा चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा कम्पनीको डाटा सेवाका ग्राहक आधार २० दशमलव ५१ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

रिपोर्ट अनुसार २०७४ चैतसम्म टेलिकमका फोरजी डाटा प्रयोगकर्ता पाँच लाख ५९ हजार एक सय ७२ छन् । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको पछिल्लो २०७४ फागुनको एमआइएस रिपोर्टअनुसार नेपाल टेलिकमको फोरजी डाटा प्रयोगकर्ता पाँच लाख ४७ हजार पाँच सय आठ छन् । यस अनुसार समग्र फोरजी डाटा प्रयोगकर्तामध्ये ३८ दशमलव ५८ प्रतिशत नेपाल टेलिकमका फोरजी डाटा प्रयोगकर्ता छन् ।

गत २०७४ चैत महिनाको अन्त्यसम्ममा नेपाल टेलिकमको टेलिफोन सेवाका ग्राहक आधार एक करोड ९३ लाख २२ हजार आठ सय ५५ रहेको छ । यसअनुसार जीएसएम मोबाइल सेवाका ग्राहक एक करोड ६९ लाख ४४ हजार पाँच सय ३९, सीडीएमए सेवाका ग्राहक १६ लाख ८८ हजार तीन सय ५१ तथा पीएसटीएन टेलिफोन सेवाका ग्राहक ६ लाख ८९ हजार तीन सय ७३ रहेका छन् ।

डाटा सेवाका लागि कम्पनीले हाल पाँच एमबीपीएससम्म गतिको अनलिमिटेड एडीएसएल इन्टरनेट सेवा मासिक न्यूनतम पाँच सय ८३ रुपियाँ सम्मको मूल्यमा उपलब्ध गराइरहेको छ ।

Advertisement

Advertisement

Advertisement