रक्सौल–काठमाडौं रेलमार्ग अन्योलमै, केरुङ–काठमाडौं रेलमार्गका लागि चिनियाँ टोलीले काम थाल्यो

Advertisement

काठमाडौंः काठमाडौंमा पहिला चिनियाँ कि भारतीय रेल आइपुग्ने भन्ने बहस भइरहेको बेला चिनियाँ टोलीले केरुङ–काठमाडौं रेलमार्गको रेखांकनको काम थालिसकेको छ भने रक्सौल–काठमाडौं रेलमार्गको कुरा अन्योलमै छ ।

पछिल्लो समयमा नेपालसँग नजिकिँदै यहाँको विकास प्रक्रियामा हात बढाउन थालेको चिनियाँ पक्षले केरुङ–काठमाडौं रेलमार्गको काम थालेर भारतभन्दा आफूलाई एक कदम अघि देखाउन सफल भएको छ ।

उक्त रेलमार्ग निर्माणका लागि चिनियाँ प्राविधिक टोली नेपाल आएर काठमाडौंको टोखाबाट पश्चिमतर्फतको स्थानमा स्टेसन बनाउन सम्भाव्यता अध्ययन सुरु गरेको हो छ भने मंगलबार नुवाकोटको खरानीटार पुगेको छ।

चिनियाँ प्राविधिकहरुको सात जनाको टोलीले अहिले रेल स्टेशन र रेलमार्गको रुट निर्माणका लागि संभावित ठाउँ पहिचान गरेर जाने र पछि फेरि आउने रेल विभागले जनाएको छ । केरुङ–काठमाडौंको सर्वेक्षणका लागि चीनले चाइना रेल्वे फस्ट डिजाइन एन्ड सर्भे इन्स्टिच्युट ग्रुप कम्पनीलाई नियुक्त गरेको छ ।

टोलीले कम्तीमा १० दिनसम्म लगाएर यहाँको भौगर्भिक बनावट हेरी रेल स्टेशन रहने ठाउँहरु र रेलमार्गका लागि संभावित रुट पहिचान गर्नेछ । स्टेशनका लागि टोलीसँगै नुवाकोटको ककनी, बिदुर, स्याफ्रुबेसी, रसुवागढीसहित कम्तीमा सातवटा स्टेसन रहने गरी उपयुक्त स्थानको अध्ययन भइरहेको विभागले जनाएको छ ।

चीनले सिगात्सेसम्म ल्याइसकेको रेलमार्ग सन् २०२० सम्ममा केरुङसम्म विस्तार गर्दैछ । सोही रेल केरुङबाट रसुवागढी हुँदै करिब ७५ किलोमिटर लामो रेलमार्गबाट काठमाडौं जोड्ने तयारी भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement