सबैभन्दा धनी मन्त्री रघुवीर महासेठ, सम्पत्तिजति सबै जुलीको नाममा

Advertisement

काठमाडौंः सरकारका मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रममा सबैभन्दा धनी मन्त्रीमा रघुवीर महासेठ देखिएका छन् । उनको सम्पत्ति अथाह देखिए पनि अधिकांश सम्पत्ति श्रीमती जुलीकुमारी महतोको नाममा रहेको छ ।

भौतिक योजना तथा यातायात मन्त्रालय सम्हाल्दै आएका महासेठले उपलब्ध गराएको सम्पत्ति विवरणअनुसार उनको चल अचल सम्पत्ति एक अर्ब रुपियाँभन्दा माथि रहेको छ ।

जसमध्ये जुलीको नाममा जनकपुर उपमहानगरपालिका वडा ९ मा ४२०० वर्गफिटको साढे दुई तले घर, ललितपुर महानगरपालिकामा ५८०० वर्गफिटमा साढे दुई तल्लाको घर छ । जुलीकै नाममा धनुषामा आठ विघा पाँच कठ्ठा जग्गा, सिन्धुली कमलामाइमा पाँच कठ्ठा जग्गा, ललितपुर महानगरपालिकामा २ रोपनी १३ आना र एक रोपनी सात आनाका जग्गाहरु रहेको छ ।

महासेठको नाममा भने एक विघा १५ कठ्ठा जग्गा मात्रै रहेको छ । उनले आफूसँग ७२ लाख रुपियाँ नगद, ५२ तोला सुन रहेको जनाएका छन् । उक्त सुनमध्ये २७ तोला पैतृक र २५ तोला दाइजोको रुपमा रहेको दावी गरिएको छ । चाँदी भने डेढ किलो रहेको छ ।

महासेठले आफूसँग ४० करोड रुपियाँ बराबरको सेयरसमेत रहेको जनाएका छन् । त्यस्तै, सगोलको जग्गा १४७ विघाभन्दा बढी रहेको भन्दै महासेठले आफू र श्रीमती जुलीको नाम गरी २३ करोड ऋण रहेको जिकिर गरेका छन् ।

Advertisement

Advertisement

Advertisement