दुर्गममा टेलिकमको सेवा विस्तार

Advertisement

बागलुङः जिल्लाका दुई दुर्गम गाउँमा पहिलोपटक मोबाइल सेवा पुगेको छ । गलकोट नगरपालिका–१० को रमुवा र बडीगाड गाउँपालिका–८ खोलाखर्कमा नेपाल टेलिकमले सेवा विस्तार गरेको हो ।

सदरमुकामदेखि २० कोष पश्चिममा अवस्थित ती दुवै ठाउँमा यसअघि कुनै पनि कम्पनीको ‘जिएसएम’ मोबाइल सेवा पुग्न सकेको थिएन ।

रमुवाका डेढ सय र खोलाखर्कका करीब चार सय घरधुरी मोबाइल सेवाबाट लाभान्वित भएको नेपाल टेलिकम बागलुङ कार्यालयले जनाएको छ । रमुवाको उपल्लो खोरिया र खोलाखर्कको बतासेडाँडामा टावर राखी मंगलबारदेखि सेवा सुरु गरिएको कार्यालयका वरिष्ठ इन्जिनियर केशव शर्माले बताए ।

“जिल्लामै बढी दुर्गम मानिने ठाउँमा सेवा पुगेको छ,” उनले भने, “अन्यत्र पनि सेवा विस्तारको काम अघि बढेको छ ।” मोबाइल सेवा पुगेसँगै ग्राहकले तत्काल इन्टरनेटको लागि ‘टुजी’ सेवा लिन सक्नेछन् । पछि तीव्र गतिको सेवाका लागि ‘थ्रिजी’ प्रविधि दिने योजना टेलिकमले बनाएको छ ।

‘जिएसएम’ मोबाइल सेवा पुगेपछि दुर्गमका ग्राहकले पनि ‘डाटा’ र ‘भ्वाइस’ दुवैमा गुणस्तरीय सेवा लिन पाउने भएका छन् । यस्तै, बागलुङबाहेक म्याग्दी, पर्वत र मुस्ताङमा पनि सेवा विस्तारको काम धमाधम भइरहेको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा पनि केही दिनमै मोबाइल सेवा सुरु हुने कार्यालयका इन्जिनियर अमृत नेपालले बताए ।

मुनापछि म्याग्दीकै ज्यामरुककोटमा टावर निर्माण अघि बढाइनेछ । कार्यालयले यसअघि उपल्लो मुस्ताङ, बागलुङकै ढोरपाटन लगायतका कैयौँ दुर्गम ठाउँमा सेवा विस्तार गरिसकेको छ ।

Advertisement

Advertisement

Advertisement