दिल्लीबाट फर्केको २४ घण्टा बित्न नपाउँदै संदीपलाई टाटाको प्रचारमा उपयोग

Advertisement

काठमाडौंः इण्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली डेभियर्सका तर्फबाट उत्साहजनक प्रदर्शन गरेर फर्किएका नेपाली क्रिकेटर संदीप लामिछाने दिल्लीबाट फर्किएको २४ घण्टा बित्न नपाउँदै सिप्रदी ट्रेडिङले टाटा मोटर्सको प्रचारमा प्रयोग गरेको छ ।

अन्य अटोमोवाइल कम्पनीले उनलाई अनुवन्धित गर्नसक्ने भएपछि सिप्रदीले बुधबार हतार हतार उनलाई टाटाका उत्पादनहरुको प्रवद्र्धनमा सहकार्य गर्ने भन्दै सम्झौता गरेको छ । न त संदीपलाई टाटाको ब्राण्ड एम्बासडर भनिएको छ न त सिप्रदीको ब्राण्ड एम्बासडरको दर्ता दिइएको छ ।

उमेरले भर्खर १७ बर्ष मात्रै रहेका संदीपलाई टाटाको टियागो कार दिएर सिप्रदीले आफ्नो व्यापार प्रवद्र्धनमा लगाउने काम गरेको हो । संदीपको राम्रो प्रस्तुती देखेर दिल्ली डेभियर्सले उनलाई आफ्नो क्लवमा आवद्ध गरेको थियो । नकआउटअघिको कुनै पनि खेलमा संदीपलाई खेल्ने मौका नदिएको दिल्लीले सोही समयमा नेपाल भ्रमणमा रहेको भारतीय प्रधानमन्त्रीले उनको चर्चा गरेपछि चेन्नार्ईविरुद्धको खेलमा डेभ्यु गरेको थियो ।

त्यसपछिको लगातार तीन खेलमा संदीपले सोचेभन्दा राम्रो प्रदर्शन गरेपछि दिल्लीदेखि काठमाडौंसम्म उनको प्रशंसा भएको थियो । एकाएक चर्चाको शिखरमा पुगेका उनलाई नेपालमा भारतीय ब्राण्ड टाटाका गाडिहरु बिक्री गर्दै आएको सिप्रदीले आरामसमेत गर्न नदिई सोल्टी होटलमा बोलाएर तीन बर्षसम्म टाटा मोटर्सको प्रचारमा काम गर्ने सहमतिपत्रमा हस्ताक्षर गराएको छ ।

कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन पारस खड्का, प्रशिक्षक र अन्य खेलाडीलाई पनि बोलाइएको थियो भने पारसलाई सम्बोधन गर्न लगाइएको थियो । सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन श्रेष्ठले संदीपसँग टाटा मोटर्सको प्रवद्र्धनका सहकार्य गर्न पाउनु ऐतिहासिक मौका भएको भन्दै प्रशंसा गरेका थिए ।

Advertisement

Advertisement

Advertisement