पहिरोले जलविद्युत् बगाएपछि एकवर्षदेखि अन्धकारमा

Advertisement

बेनीः म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङ गाउँ एकवर्षदेखि अन्धकारमय बनेको छ ।

२०७४ साउन १२ गते गाउँनजिक रहेको जुगेपानी पहिरोले २५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजल विद्युत् परियोजनाको विद्युत्गृह पुरिनुका साथै नहर बगाएपछि गाउँ अन्धकार बनेको हो ।

विद्युतको अभावमा विद्यालयका विद्यार्थी, स्वास्थ्य चौकीमा नियमित उपचारसहित गाउँको जनजीवन प्रभावित भएको वडाध्यक्ष गमप्रसाद विकले बताए । “विद्युत् आपूर्ति रोकिएको एक वर्ष बित्न लाग्यो, सोलार र टुकी बाल्नुपर्ने बाध्यता छ” विकले भने ।

उनले अधिकांश दलितको बसोबास रहेको लुलाङमा गरिबीका कारण सोलार र मैनबत्तीसमेत किन्न नसक्दा बालबालिकाले साँझपख पढ्नबाट वञ्चित हुँदा शैक्षिक गतिविधि प्रभावित भएको दुुखेसो गरे । परियोजनाको अधिकांश संरचना पहिरोले क्षति पुर्याएपछि गाउँपालिकाले विनियोजन गरेको २३ लाख रुपियाँ बजेटले परियोजना पुनःनिर्माण सम्भव नभएपछि अलपत्र परेको उनले जानकारी दिए । तीनसय २५ घरधुरीले प्रयोग गर्ने परियोजनालाई नयाँ ठाउँमा सञ्चालन गर्न सर्वेसहितको प्राविधिक काम सकिएको गाउँलेले बताएका छन् ।

परियोजना बन्द भएपछि केही गाउँलेले ऋण लिएरसमेत सोलार जडान गरेका छन् । “गाउँले मर्कामा परेका छन्, विकट बस्तीमा सरकारी बजेटले प्राथमिकता पाउन सकेन” स्थानीय बृद्ध टेकलाल रसाइलीले भने ।

लुलाङमा रहेका सार्वजनिक धारामा बिहानैदेखि लाइन बस्नुपर्ने बाध्यता रहेको छ । सञ्चार सुविधाबाट समेत सहज नभएकाले गाउँलेले नजिकैको डाँडामा पुगेर मोबाइलबाट कुराकानी गर्ने गरेका छन् ।

मोबाइलसहित अन्य उपकरण चार्ज गर्न स्थानीयले छिमेकी मुनामा पुग्नुपर्ने बाध्यता रहेको छ । स्थानीयले सञ्चार, विद्युत्, खानेपानी समस्या तत्काल समाधान गर्न माग गरेका छन् । “देशकै दुर्गम बस्तीका जनता जस्तो लाग्छ, अति आवश्यक सेवाबाटै वञ्चित छौँ” स्थानीय राम रसाइलीले भने । उनले खानेपानीका लागि बालबालिकाले जोखिम मोल्नुपर्ने बाध्यता रहेको बताउँदै जनश्रमदानबाट मात्रै सम्भव नभएको बताए ।

पहिरोले खानेपानीको मुहानमा समेत क्षति पुगेपछि लुलाङ र लम्सुङबाका बासिन्दाले दैनिक पानीको खोजीमा हिँड्नुपर्ने बाध्यता रहेको छ ।

Advertisement

Advertisement

Advertisement