मिलन भवन बनाउन ४० लाखको जग्गादान

Advertisement

फलेवासः ज्येष्ठ नागरिकको मिलन भवन निर्माण गर्न पर्वतका एकजना ज्येष्ठ नागरिकले ४० लाख रपियाँ मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गरेका छन् । सदरमुकाम कुश्माको वडा नं ७ खरेहामा बनाउने भनिएको भवनका लागि स्थानीय ६६ वर्षीय महानन्द शर्माले तीनआना तीनदाम क्षेत्रफल भएको जग्गा ज्येष्ठ नागरिक मिलन समाजका नाममा पास गरेर जग्गाको लालपूर्जा समाजका अध्यक्ष तीर्थनाथ शर्मालाई दिएको हो ।

जिल्ला वन कार्यालय, पर्वतका पूर्व कर्मचारीसमेत रहेका शर्माले आफू पनि बृद्ध बन्दै गइसकेको र नयाँ पुस्तामा धार्मिक संस्कार हराइसकेको भन्दै असल संस्कारको विकास गर्न पनि आफूले उक्त जग्गा भवन निर्माणका लागि समाजलाई प्रदान गरेको बताए । लालपूर्जा बुझ्दै अध्यक्ष शर्माले दाताको मर्मअनुरुपको संरचना तयार पारेर जग्गाको अधिकतम सदुपयोग गर्ने बताए ।

भवनको निर्माण भएपछि काम गर्न नसक्ने अवस्थामा घरमा एक्लै बस्ने गरेका ज्येष्ठ नागरिक सोही भवनमा जम्मा भएर आफ्नो पुस्ताका बीचमा विभिन्न विषयमा आफ्ना अनुभव र भावना साटासाट गर्न पाउनेछन् ।

सोही वडाका वडाध्यक्ष सुवास पौडेलले ज्येष्ठ नागरिक लक्षित कार्यक्रमअन्तर्गत भवन निर्माणका लागि बजेटको प्रबन्ध गर्ने बताउँदै जमिनको अभाव हुने सदरमुकाममा जमिन दाताले निःशुल्क जग्गादान गर्नु महान कार्य भएको बताए ।

Advertisement

Advertisement

Advertisement