‘यो अधिनायवादी सरकारले पहिला मिडियाको मुख बन्द गर्छ, त्यसपछि व्यवसायीलाई दुःख दिन्छ’

Kamal-Thapa

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान र प्रजातन्त्रको आवरणमा वर्तमान सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न उन्मुख रहेको गम्भीर आरोप लगाएका छन् ।

बिहीबार रिपोर्टर्स क्लबमा थापाले वर्तमान सरकार प्रतिपक्षी र विपक्षी दलहरुको क्रियाकलापप्रति असहिष्णु हुनु सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न उद्दत रहेको प्रमाण भएको जिकिर गरे ।

राष्ट्रियताको पक्षमा विगतमा लिएको अडान र केपी ओलीलाई जनताले मत दिएको तर, जनताको म्याण्डेटअनुसार शान्ति, स्थिरता र प्रजातन्त्रलाई बलियो बनाउनेमा अहिले शंका पैदा भएको उनको आरोप छ ।

थापाले भने, ‘भेनेजुएलामा ह्ुयोगो चाभेजले, टर्कीमा एर्डोगानले र रसियामा पुटिनले पनि संविधान र प्रजातन्त्रको आवरणमा नै सर्वसत्तावाद व्यवस्था कायम गरेका हुन् । संविधानबमोजिम प्रजातान्त्रिक आवरणमा, यति गरिसकेपछि चुनाव जित्न पनि गाह्रो नहुने, मिडियाले पनि चुईंक्क बोल्न सक्दैन् । व्यापारीहरुको हालत त्यही हुन्छ । यो सर्कल अब नेपालमा सुरु हुन लागेको छ ।’ यद्यपी उनले अहिले नेपालमा यी कुराको संकेतमात्रै देखिएको सुनाए ।

१९६० वा ७० को दशकमा प्रजातन्त्रको समाप्ती सैनिक ‘कु’ बाट हुने गरेको भएपनि अहिले सैनिक शासन वा ‘कु’ हुने खतरा विश्वमै अत्यधिक कम हुँदै गएको उनले स्मरण गराए । थापाले थपे, ‘तर संविधान बमोजिम र प्रजातन्त्रकै परिधिभित्रै रहेर चुनाव जितेर सर्वसत्तावाद र अधिनायकवाद कायम गरिन अहिलेको ट्रेण्ड रहेकोे छ ।’

थापाले अबको २ देखि ३ वर्षभित्रै वर्तमान सरकारले ९० प्रतिशत कर्मचारी, सुरक्षा निकाय, न्यायालय सबैमा आफ्नो प्रभाव जमाउने आशंका व्यक्त गरे । उनले भने, ‘अब हेर्दै जानुहोला, सरकारले अब मिडियामा आक्रमण गर्छ । नक्कली समस्या खडा गर्छ । मिडियापछि व्यापारीहरुलाई विभिन्न हत्कण्डा अपनाएर दुःख दिने काम सुरु गर्छ । सरकार न्यायालय, संवैधानिक निकाय, प्रशासनिक संयन्त्र लगायतका क्षेत्रहरुलाई पार्टीकरण गर्न उद्धत रहेको आशंका बढेर गएको छ ।’

नेता थापाले थपे, ‘निवाचित् सर्वसत्तावादी मोडलको अभ्यास गर्न खोजिँदैछ ।’ आवरणमा भ्रष्टाचार नियन्त्रण भन्ने तर, आफ्ना विरोधीलाई कारबाही र समर्थनलाई संरक्षण दिने काम हुने थापाको दाबी छ ।

संविधानलाई स्वागत नगरेको र नाकाबन्दी लगाएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको क्रममा स्वागत गर्नुसम्म ठिक भएपनि नागरिक अभिनन्दन गरिनु गलत भएको उनको भनाई छ । थापाले भने, ‘मोदीलाई स्वागत गर्नुपर्छ तर नागरिक अभिनन्दन गर्नुहुँदैन भनेर सायद पहिलो बोल्ने व्यक्ति मै हुँ, मोदीलाई नागरिक अभिनन्दन गरिनु अस्वभाविक र अनावाश्यक थियो र हो ।’

संविधान जारी गर्दा भारतले नेपालमाथि आर्थिक नाकाबन्दी लगाएकोले त्यो पीडा नेपालीहरुले अझैसम्म पनि विर्सन नसकेको अवस्थामा मोदीलाई अभिनन्दन गरिनु अनावश्यक थियो भन्ने उनको दाबी छ ।

भारतले नेपालको संविधान अपूर्ण र समावेशी नभएको भनेर विश्वभरि नै योजनावद्ध रुपमा प्रचार अभियान चलाएको समेत थापाले स्मरण गराए । उनले भने, ‘मोदीले भारतले लगाएको आर्थिक नाकाबन्दीको बारेमा दुःख समेत व्यक्त गरेनन् ।’

सत्तामा पुगेपछि टिकिरहन बाहृय शक्तिको आर्शिवाद चाहिन्छ भन्ने विगतको आत्मसमर्पणवादी मानसिकता वर्तमान प्रधानमन्त्री केपी ओलीमा पनि देखिन थालेको त होइन ?’ भन्दै उनले प्रश्न समेत तेर्साए ।

राष्ट्रियताको लहरमा एमाले र यसका नेतृत्वकर्ता केपी शर्मा ओलीलाई जनताले राज्य सञ्चालनको महत्वपूर्ण जिम्मेवारी दिएको उल्लेख गर्दै अध्यक्ष थापाले भने, ‘तर विगत १०० दिनको घट्नाक्रम हेर्दा, खासगरी एमाले र माओवादी केन्द्रबीचको एकता कायम गर्ने सिलसिलामा विकसित घट्नाक्रम हेर्दा र नेताहरुद्धारा व्यक्त भएका अभिव्यक्ति हेर्दा राष्ट्रियता बलियो बनाउने आधारमा आशंका पैदा भएको छ ।’

अध्यक्ष थापाले पछिल्लो समय धर्म परिवर्तन, भ्रष्टाचार, संविधानको आवरणमा बढ्दै गइरहेको सर्वसत्तावाद र बाह्य शक्तिको चलखेल प्रमुख चूनौतिको रुपमा देखापरेकोले यी सबै चूनौतिको सामना गर्नको लागि राष्ट्रियताको संरक्षण, हिन्दू राष्ट्रको पूर्नस्थापना, प्रजातन्त्रको सुदृढिकरण र प्रजातान्त्रिक शक्तिहरुका बीचमा एकता अनिवार्य आवश्यक रहेको सुनाए ।

थापाले योजनावद्ध रुपमा धर्म परिवर्तन गराउने काम भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै धर्म परिवर्तन गराउने व्यक्ति, समूह र गिरोहलाई संविधानको भावना अनुसार कारवाही गर्नुपर्ने माग गरे । उनले भने, ‘धर्म परिवर्तन गराउन षड्यन्त्र गर्नेहरुलाई नियन्त्रण गर्नु हामी सरकारसँग जोडदार माग गर्छौं ।’

त्यस्तै, अध्यक्ष थापाले गौ हत्या गर्नेहरुलाई पनि नियन्त्रणमा लिन र गौहरुको सुरक्षाको लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरे । उनले भने, ‘सरकारले प्रत्येक गाउँपालिकामा गौ–शाला स्थापना गरोस ।’

नेता थापाले नेपालको पाठ्यक्रम सुधारको नाममा नेपालको इतिहास, संस्कृति, धर्मलाई कमजोर बनाउने र इतिहासको अपव्याख्या गर्ने कार्य हुन लागिरहेकोले यस्ता कामहरुलाई रोक्नको लागि सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘संस्कृत भाषाको अध्ययन तथा अध्यापन हुनुपर्छ, यसको संरक्षण तथा सम्र्वद्धन गर्नुपर्छ ।’

अध्यक्ष थापाले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणको लागि तीन वटै राप्रपाबीच एकता हुनुपर्नेमा जोड दिँदै त्यसको लागि आफू अध्यक्ष पद छोड्न समेत तयार रहेको सुनाए । उनले भने, ‘विगतमा जे कुराहरु भए, अब ती कुरामा आरोप–प्रत्यारोप गर्नुहुँदैन् । एकता कायम गर्नुपर्छ । यस प्रयोजनको लागि म लोहनीजी र राणाजीलाई आह्वान गर्दछु । एकताका निम्ति म आवश्यक पर्यो भने अध्यक्ष पद छोड्न र हदैसम्मको लचकता अपनाउन तयार छु ।’

हालै सम्पन्न भएको राप्रपाको केन्द्रिय परिषदको तीन दिने बैठकका बारेमा जानकारी दिँदै अध्यक्ष थापाले राजनीति तथा वैचारिक कार्यदिशा, संगठनात्मक सुदृढिकरण र प्रशिक्षण सम्बन्धी कार्ययोजनालाई पारित गरेको पनि जानकारी दिए ।

त्यस्तै निर्वाचनको संघारमा भएको पार्टी विभाजन, कमजोर संगठन, नेपाली कांग्रेससँगको तालमेललाई पराजयको मुल कारण ठहर गर्दै बैठकले पार्टीको विधान संशोधन, राजसंस्थासहितको लोकतन्त्र र हिन्दूराष्ट्रको पूनःस्थापनाका लागि सशक्त भएर जनतामा जाने निर्णय गरेको पनि थापाले सुनाए ।

उनका अनुसार राप्रपाले जेठदेखि माघ मसान्तभित्र छुवाछुतविरुद्ध राष्ट्रिय अभियान चलाउने, मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा, हिन्दूराष्ट्र जनचेतना कार्यक्रम तथा भ्रष्टाचारविरुद्ध भण्डफोर अभियान सञ्चालने गर्ने र समान विचारधारा भएका व्यक्ति समूह र दलसँग एकता र सहकार्य गर्ने भएको छ । त्यस्तै उनले २०७५ पुसभित्रै ७५३ वटै गाउँपालिका र सबै वडाहरुमा पार्टीका संगठनहरुलाई पूर्नगठन गरिने पनि सुनाए ।