एमसीसीमार्फत उर्जा र सिंचाई क्षेत्रमा लगानी गर्ने अमेरिकी चाहना

Advertisement

काठमाडौंः उर्जा, सिंचाई तथा जलस्रोतमन्त्री बर्षमान पुन र नेपालका लागी अमेरिकी राजदूत अलाइना बी टेप्लिजबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा बिहीवार भएको भेटवार्तामा राजदूत टेप्लिजले उर्जा र सिंचाईको क्षेत्रमा सहकार्य गर्न अमेरिका इच्छुक रहेको बताइन ।

मन्त्री पुन र राजदूत टेप्लिजबीचको भेटमा अमेरिकाले एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन) नेपाल कमप्याक्टमार्फत नेपालको विकास र उर्जा क्षेत्रमा लगानी गर्ने इच्छा देखाएकी हुन । भेटमा एमसिसी कमप्याक्टका एसिया मामिला हेर्ने डेपुटी भाइस चेयरम्यान जोनाथन ब्रुक्स समेत सहभागी थिए ।

मन्त्री पुनले अमेरिकाको सहयोगमा संचालित एमसिसीसँग सम्बन्धित कार्यक्रम समयभित्र पुरा गर्ने तयारी उर्जामन्त्रालयले गरेको बताए । उनले त्यसका लागि सरकारको तर्फबाट कुनै समस्या नपर्ने धारणा समेत राखे ।

पुनले भने, ‘एमसिसी नेपाल कम्प्याक्ट महत्वकांक्षी कार्यक्रम हो । यो भन्दा बढी महत्वंकाक्षी बुटवल–अत्तरिया प्रशारणलाइन बनाउने मन्त्रालयको योजना छ । त्यसैले हाम्रो तर्फबाट एमसीसीमार्फत हुने कार्यक्रममा कुनै कमी नहुने गरी काम गर्न तयार छौ ।’

उनले एमसीसीलाई नमुना परियोजनाको रुपमा विकास गरेर अघि बढाउने सरकारको तयारी रहेको जानकारी समेत दिए । नेपालमा राजनीतिक संक्रमणको चरण पार भइसकेको भन्दै पुनले अमेरिकी लगानीकर्तालाई नेपालको उर्जा क्षेत्रमा लगानीको लागी वातावरण बनाईदिन आग्रह गरे ।

मन्त्री पुनले एमसीसी परियोजना सुरु भएको पांच वर्षभित्र निर्माण भइसक्नुपर्ने प्रावधानबारे आफु जानकार रहेको भन्दै पुर्व तयारीको काम पनि समयभित्र पुरा गर्न मन्त्रालयको तर्फबाट कुनै समस्या नहुने बताए ।

एमसिसी कमप्याक्टका एसिया मामिला हेर्ने डेपुटी भाइस चेयरम्यान जोनाथन ब्रुक्सले एमसीसी वैदेशिक लगानीको सुचकका रुपमा भएको बताए । उनले यसलाई संसदबाट अनुमोदन गर्न सके त्यसले परियोजना कार्यान्वयनमा सजिलो हुने धारणा समेत राखे । उनले भने, ‘पाँच वर्षभित्र यो परियोजना पुरा हुनैपर्ने हाम्रो नियम छ,त्यसका लागी तयारीको चरण अझै केही समय बाकी रहेकाले त्यो अवधीभित्र सबै तयारी पुरा भयो भने परियोजना निर्माणमा सहयोग पुग्छ ।’

एमसीसी नेपाल कमप्याक्ट परियोजनअन्तर्गत अमेरिकाले नेपालको उर्जा र सडक निर्माणमा ५० अर्ब बरावरको रकम खर्च गर्ने यसअघि नै घोषणा गरिसकेको छ । एमसीसी कम्याक्टअन्र्तगत अमेरिकाले प्रशारणलाइन निर्माणमा सहयोग गर्ने समझदारी भइसकेको छ ।

एमसीसीअन्तर्गत रातोमाटे–दमौली, दमौली–वुटवल, वुटवल–हेटौडा र रातोमाटेदेखी लप्सीफेदीसम्म चार सय केवीको प्रशारणलाइन निर्माण हुनेछ । त्यसैगरी वुटवलदेखी सुनौलीसम्म अन्र्तदेशिय प्रशारण लाइन समेत निर्माण गर्ने समझदारी भइसकेको छ ।

Advertisement

Advertisement

Advertisement