हस्तकला उद्योगलाई भ्याइनभ्याइ

Advertisement

बेनीः म्याग्दी बेनी नगरपालिका–५ पुलाचौरका महिलाले सञ्चालन गरेको हस्तकला उद्योगमा सामग्री उत्पादनका लागि भ्याइनभ्याइ भएको छ । पुलाचौर स्वीटर उत्पादक संघमा आवद्ध महिला उद्यमीले तीन कोठे भवन निर्माण गरी हस्तकला उद्योग सञ्चालन गरेका हुन् ।

उद्योगमा ऊनीका स्वीटर, गलबन्दी, टोपी, ट्राउजर, कुर्ता सुरुवाल, स्कुल पोशाकलगायत विभिन्न हस्तकलाका सामग्री उत्पादन हुँदै आएका छन् । गरिबी निवारण कोषको सहयोगमा धौलागिरि सामुदायिक स्रोत विकास केन्द्रद्वारा सञ्चालित द्वन्द्व प्रभावितका लागि बजार निर्माण परियोजनाले पुलाचौरका उद्यमीलाई ऊनीका कपडा बुन्ने मेटिङ मेसिन लगायत १२ लाख ३० हजार रुपियाँ बराबरको सामग्री र कच्चा पदार्थ सहयोग गरेको छ ।

उद्यमीले सामूहिक रुपमा कपडा र हस्तकलाका सामग्री निर्माण गरेर बिक्री गरी आयआर्जन गर्दै आएका छन् । समूहमा आठजना महिला संलग्न छन् । गत माघ २८ गतेदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको सो उद्योगले तीन महिनाको अवधिमा रु पाँच लाख भन्दा बढीका सामग्री बिक्री गरिसकेको छ ।

उद्योगबाट उत्पादित सामग्रीको माग बढ्दै गएपछि आफूहरुलाई भ्याइनभ्याइ भएको पुलाचौर स्वीटर उत्पादन समूहका अध्यक्ष दुर्गा पौडेलले बताए । उत्पादित सामग्री सदरमुकाम बेनीबजार, पोखरा र गाउँमा नै बिक्री हुँदैआएका छन् ।

Advertisement

Advertisement

Advertisement