सार्वजनिक कार्यक्रममा लालबाबुलाई सुरेन्द्र केसीको प्रश्न– कसरी कमाउनुभयो ५५ लाख ?

Advertisement

काठमाडौंः राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले सरकारले सय दिनमा केही संभावनाहरु देखाएपनि अझै काम हेर्न बाँकी रहेको बताएका छन् ।

रिपोर्टर्स क्लवमा शनिबार उनले भने, ‘सरकारले फाष्ट ट्रयाक, रेलवे, जहाज ल्याउने लगायतका संभावनाहरु देखाएको छ । यी राम्रै कुराहरु हुन् ।’ यद्यपी केसीले सय दिनमा देखा परेका कुराहरु हेर्दा राम्रो संकेत नगरेको गुनासो गरे ।

वर्तमान प्रधानमन्त्री केपी ओली पनि भ्रमणबाटै समस्या समाधान हुन्छ भनेर भारत भ्रमणमा गएकोले ओली पनि परम्परागत रुपमा झुण्डिएको उनको तर्क छ । केसीले भने, ‘प्रधानमन्त्रीले ६ महिनापछि वा राजदुत नियुक्त गरेरमात्रै भ्रमण गरेको भए हुन्थ्यो । तर उहाँले प्रधानमन्त्री भएपछि भ्रमण गर्नमै जोड दिनुभयो ।’

त्यस्तै, उनले सिण्डिकेट हटाउनेजस्तो ठूलो उपलब्धिमूलक काम गरेका यातायात विभागका महानिर्देशकलाई पुरस्कारस्वरुप कारबाही गरिएको भन्दै व्यंग्य समेत गरे । केसीले भने, ‘कर्मचारीहरुलाई अनुकुल र प्रतिकुल अनुसार प्रयोग गरिएको छ । राम्रो गर्नेलाई पुरस्कृत गर्नुपर्ने हो । तर कारबाही गरिएको छ ।’

वर्तमान सरकार संविधानतः पनि अढाई वर्षसम्म नढल्ने र दुई तिहाईको सरकार भएकोले अब परिणाममुखी कार्यप्रणाली अपाउनुपर्नेमा उनको जोड थियो । केसीले सरकारको नीति तथा कार्यक्रम चित्त प्रशन्न हुने खालको नभएको स्पष्ट पारे ।

त्यस्तै, फरक प्रसँगमा उनले कार्यक्रममा सँगै रहेको मन्त्री लालबाबु पण्डितलाई प्रश्न गर्दै भने, ‘जनता जान्न चाहन्छन् ? लालबाबुजी तपाईले कसरी कमाउनुभयो ५५ लाख ?’

Advertisement

Advertisement

Advertisement