विराटनगर–पोखरा हवाई उडान सुरु हुने

Advertisement

विराटनगरः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विराटनगर–पोखरा हवाई सेवा चाँडै सुरु हुने बताएका छन् ।

विराटनगर नागरिक उड्डयन कार्यालय कार्यालयद्वारा आज यहाँ आयोजित ‘विराटनगर विमानस्थलको भावी विकास तथा विस्तारका सम्भावना तथा चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले अन्तरप्रदेशीय सम्बन्धका लागि पहिलो चरणमा यहाँबाट पोखरा हवाई उडान सुरु गर्ने बताए ।

मन्त्री अधिकारीले आगामी वर्षको बजेटमा विराटनगर र नेपालगन्जलाई क्षेत्रीय विमानस्थलको विकास गरी भारतबाट हवाई रुट प्राप्त हुनाले यस क्षेत्रवाट छिमेकी देशका शहरमा ७२ सिटे विमानवाट सेवा सञ्चालन गर्न दुुई विमान कम्पनी तयार रहेको जानकारी दिए ।

उनले भारतीय पर्यटकलाई यस क्षेत्रको हिमाल अवलोकन गर्ने कार्यलाई सहज र सरल बनाउने सुझावलाई ध्यानमा राखी प्राविधिक अध्ययन गरी विराटनगरबाट नै हिमाली अवलोकन उडान केही दिनभित्रमा शुरु हुने विश्वास दिलाए ।

मन्त्री अधिकारीले मुलुकको व्यापार घाटा कम गर्न तथा यस क्षेत्रमा रहेको धार्मिक पर्यटकीय क्षेत्रमा भारतीय पर्यटकलाई हेलिकप्टरमार्फत हेलेसी, पाथीभरालगायत धार्मिक क्षेत्रमा भ्रमण गराउने कार्यमा आफ्नो सहयोग हुने बताए । उनले तेस्रो देश तथा छिमेकी पाहुनाको सहज, सरल र सुविधायुक्त बसोबासका लागि विराटनगरमा ६÷७ वटा पाँच तारे होटल खोल्नुपर्नेमा जोड दिए ।

उनले विराटनगर भन्सार क्षेत्रमा भवनको व्यवस्था भएमा यस क्षेत्रमा अस्थायी रुपमा अध्यागमन कार्यालय खोल्न सकिने बताए । मन्त्री अधिकारीले काठमाडौँमा हवाई ट्राफिक धेरै भएकाले थप विमानलाई अन्य ठाउँमा राख्ने व्यवस्था मिलाइएको उल्लेख गर्दै राष्ट्रिय विमानस्थल नीति बनाएपश्चात नै नयाँ विमानस्थलको निर्माण कार्य हुने बताए ।

प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगर विमानस्थललाई २० वर्षे सोचका साथ विस्तार गर्नुपर्नेमा जोड दिँदै यहाँबाट हिमाली उडान भएमा भारतको विहार, पश्चिम बंगाल र उत्तर प्रदेशलगायत क्षेत्रबाट अत्याधिक भारतीय पर्यटक आउने धारणा व्यक्त गरे ।

सो अवसरमा विराटनगर विमानस्थलको विस्तार र सुरक्षाका लागि विमानस्थल पूर्व अधिकरण गरिएको साँढे चार बिघा जग्गाको मुआब्जाबापतको रु ६८ करोड रकम आगामी असार १ गतेदेखि वितरण गरिने बताइयो ।

Advertisement

Advertisement

Advertisement