अब विराटनगर–पोखरा सिधा उडान, विराटनगरमा ६/७ वटा पाँचतारे होटल जरुरी

Advertisement

विराटनगरः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विराटनगर–पोखरा हवाई सेवा चाँडै शुरु हुने बताएका छन् । विराटनगर नागरिक उड्डयन कार्यालय कार्यालयमा शनिबार अन्तरक्रियामा उनले अन्तरप्रदेशीय सम्बन्धका लागि पहिलो चरणमा यहाँबाट पोखरा हवाई उडान शुरु गर्ने बताएका हुन ।

मन्त्री अधिकारीले आगामी वर्षको बजेटमा विराटनगर र नेपालगन्जलाई क्षेत्रीय विमानस्थलको विकास गरी भारतबाट हवाई रुट प्राप्त हुनाले यस क्षेत्रवाट छिमेकी देशका शहरमा ७२ सिटे विमानवाट सेवा सञ्चालन गर्न दुुई विमान कम्पनी तयार रहेको जानकारी दिए ।

उनले भारतीय पर्यटकलाई यस क्षेत्रको हिमाल अवलोकन गर्ने कार्यलाई सहज र सरल बनाउने सुझावलाई ध्यानमा राखी प्राविधिक अध्ययन गरी विराटनगरबाट नै हिमाली अवलोकन उडान केही दिनभित्रमा शुरु हुने विश्वास दिलाए ।

मन्त्री अधिकारीले मुलुकको व्यापार घाटा कम गर्न तथा यस क्षेत्रमा रहेको धार्मिक पर्यटकीय क्षेत्रमा भारतीय पर्यटकलाई हेलिकप्टरमार्फत हेलेसी, पाथीभरालगायत धार्मिक क्षेत्रमा भ्रमण गराउने कार्यमा आफ्नो सहयोग हुने बताए । उनले तेस्रो देश तथा छिमेकी पाहुनाको सहज, सरल र सुविधायुक्त बसोबासका लागि विराटनगरमा ६/७ वटा पाँच तारे होटल खोल्नुपर्ने बताए ।

अधिकारीले विराटनगर भन्सार क्षेत्रमा भवनको व्यवस्था भएमा यस क्षेत्रमा अस्थायी रुपमा अध्यागमन कार्यालय खोल्न सकिने बताए । मन्त्री अधिकारीले काठमाडौँमा हवाई ट्राफिक धेरै भएकाले थप विमानलाई अन्य ठाउँमा राख्ने व्यवस्था मिलाइएको उल्लेख गर्दै राष्ट्रिय विमानस्थल नीति बनाएपश्चात नै नयाँ विमानस्थलको निर्माण कार्य हुने बताए ।

प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगर विमानस्थललाई २० वर्षे सोचका साथ विस्तार गर्नुपर्नेमा जोड दिँदै यहाँबाट हिमाली उडान भएमा भारतको विहार, पश्चिम बंगाल र उत्तर प्रदेशलगायत क्षेत्रबाट अत्याधिक भारतीय पर्यटक आउने बताए ।

सांसद भानुभक्त ढकालले यस क्षेत्रको धार्मिक पर्यटक क्षेत्रलाई पर्यटकमैत्री बनाउनुका साथै यहाँबाट प्रदेशका सबै क्षेत्रमा उडान हुनुपर्नेमा जोड दिए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम परालुलीले विराटनगर विमानस्थलको रनवे विस्तारमा सहयोग रहने उल्लेख गर्दै यहाँबाट लुक्ला हवाई सेवा सञ्चालन गर्नुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले विमानस्थल आवतजावतका लागि चाँडै नै नगर बस सञ्चालन गरिने बताउँदै अधिकरण गरिएको जग्गाको काम ९९ प्रतिशत सम्पन्न भएको बताए ।

अन्तरक्रियामा पूर्वसांसद ऋषिकेश पोखरेल, उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायलगायतले विराटनगर विमानस्थल विस्तार गरी यहाँबाट सबै प्रदेशका साथै भारतीय यात्रुलाई आकर्षित हिमाली उडान गर्नुपर्नेमा जोड दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजीव गौतमले विराटनगर विमानस्थलबाट बिहान ६ देखि राति १० बजेसम्म उडान अवतरण गर्न सकिने बताए ।

सो अवसरमा विराटनगर विमानस्थलको विस्तार र सुरक्षाका लागि विमानस्थल पूर्व अधिकरण गरिएको साँढे चार बिघा जग्गाको मुआब्जाबापतको रु ६८ करोड रकम आगामी असार १ गतेदेखि वितरण गरिने बताइयो ।

Advertisement

Advertisement

Advertisement