'गरिव जनतालाई पानी जहाजको सपना नदेखाउ, पहिला गाउँमा, पानी, सडक, स्वास्थ्य सेवा पुर्याउ'

Advertisement

काठमाडौंः अर्थविद् डा. मदन दाहालले ‘सुखी नेपाली– संवृद्ध नेपाल’ नाराको सट्टा ‘घरघरमा सीप पुर्याउँ, गरिवी हटाउँ’ नारा बनाउन प्रधानमन्त्री केपी ओलीलाई सल्लाह दिएका छन् ।

‘सुखी नेपाली– संवृद्ध नेपाल’को नारा सुन्दा कर्णप्रिय भए पनि उपयुक्त नरहेको भन्दै दाहालले व्यवहारमा उतार्नुपर्ने नारा ‘घरघरमा सीप पुर्याउँ, गरिवी हटाउँ’ रहेको बताएका छन् ।

उनले कृषि र उद्योगधन्दाको विकास नभएसम्म मुलुकको वास्तक विकास नहुने बताएका छन् । दाहालले कृषि र उद्योगको विकास नभएसम्म नेपाल जहिले विदेशी वस्तुको बजार कायम रहने भन्दै त्यस्तो हुँदा भन्सार महशुलको भरमा राजश्व परिचालन गर्नुपर्ने, मूल्यवृद्धिको चाप रहने र जनता शोषणमा पर्ने बताएका छन् ।

अर्थविद दाहालले हाम्रो सर्वोपरी प्राथमिकता धारामा पानी, गाउँमा सडक र स्वस्थ्य सेवा, गरिवलाई रोजगारी हो भन्दै रेल, पानी जहाज, केवलकार होइन भनेका छन् । उनले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्दै यसलाई बाह्य अर्थतन्त्रसँग जोड्ने र आर्थिक विकासको प्रत्याभूति गर्ने उद्देश्यको बजेटमा हुनुपर्ने बताएका छन् ।

दाहालले महंगी नियन्त्रण गर्न प्रत्येक दिन बजारमा अधिकारसम्पन्न अनुगमन टोली खटाउनुपर्ने, राजधानी काठमाडौं र राजधानी बाहिर दिनको न्यूनतम् एक घण्टा खानेपानीको आपूर्ति गरिनुपर्ने, भत्केका सडक र पुलको यथासिघ्र मर्मत गरिनुपर्ने, फोहर हरेक दिन बिहान ७ बजेअघि उठाइसक्नुपर्ने, ट्राफिक जामको समस्या चाँडै समाधान गर्नुपर्ने सुझावसमेत उनले सामाजिक सञ्जालमार्फत सरकारलाई दिएका छन् ।

साथै, दाहालले शान्ति सुरक्षाको प्रत्याभूतिका लागि सशस्त्र प्रहरीबाट २४सै घण्टा पेट्रोलिङ हुनुपर्ने र भ्रष्टाचारीहरुलाई कडा कारवाही गरिनुपर्ने बताएका छन् । यस्ता कुराहरुमा सरकारले ध्यान दिए जनतालाई सरकार भएको अनुभूति हुने भन्दै उनले जनतालाई संवृद्धिको सपना बाँड्नुभन्दा अहिले सुःख शान्तिको प्रत्याभूति सरकारले गर्नुपर्ने बताएका छन् ।

Advertisement

Advertisement

Advertisement