समुदायको सहयोगमा विद्यालयलाई ६४ लाखको अक्षयकोष

Advertisement

बाबियाचौरः म्याग्दी अन्नपूर्ण गाउँपालिका–१ दोवामा रहेको कैलाश माविमा समुदायको सहयोगमा ६४ लाख रुपियाँको अक्षयकोष स्थापना भएको छ ।

पूर्व विद्यार्थी, स्थानीयवासी, प्रवासी र देशका विभिन्न ठाउँमा बसोबास गर्ने दोवाबासीको सहयोगमा ६४ लाख ११ हजार २९८ रुपियाँको अक्षयकोष स्थापना भएको हो । अक्षयकोषको ब्याज निजी स्रोतका शिक्षकको तलब, कम्प्यूटर प्रयोगशाला र इन्टरनेट सञ्चालनसँगै विद्यालयको शैक्षिक विकासमा परिचालन गरिने प्रधानाध्यापक शिरबहादुर गर्बुजाले जानकारी दिए ।

आधारभूत तहसम्मको अनुमति पाएको सो विद्यालयमा विसं २०५६ देखि स्थानीय स्रोत जुटाएर कक्षा ९ र १० को पठनपाठन गरिँदै आएको छ । तल्लो तहको दरबन्दी भएर माथिल्लो तहमा पढाउने तीन र निजी स्रोतका एक जना शिक्षकको लागि मासिक ३० हजार रुपियाँ स्थानीय स्रोतबाट जुटाउने गरिएको छ । सो विद्यालयको कक्षा ६ देखि १० सम्म कम्प्यूटर विषयको पठनपाठन गरिँदै आएको छ ।

स्थानीय बासिन्दा, प्रवासी र विद्यालयको आन्तरिक स्रोतबाट १५ वटा कम्प्यूटर खरिद गरी ल्याब सञ्चालन गरिएको शिक्षिका कुशम पुर्जाले बताए । गाउँको विद्यालयमा आधुनिक प्रविधियुक्त शिक्षा हासिल गर्न पाउँदा विद्यार्थी उत्साहित भएका छन् । उनीहरुको पढाइप्रति रुची बढेको छ । हाल करीब २०० जना विद्यार्थी सो विद्यायलमा अध्ययनरत छन् ।

Advertisement

Advertisement

Advertisement