मस्र्याङदी करिडोरका निर्माणाधिन विद्युत आयोजनाको बिजुली खेर जान दिन्नः प्राधिकरण

Advertisement

काठमाडौंः नेपाल विद्युत प्राधिकरणले मस्र्याङदी नदी करिडोरमा निजी क्षेत्रबाट निर्माणाधीन जलविद्युत आयोजनाले उत्पादन गर्ने एक युनिट विद्युत पनि खेर जान नदिने बताएको छ ।

लमजुङको दोर्दी तथा न्यादी खोलामा निर्माणाधीन आयोजना सम्पन्न हुन कम्तीमा दुई वर्ष लाग्ने देखिएको र त्यस अवधिमा प्राधिकरणले सवस्टेसन तथा प्रसारणलाइन बनाइसक्ने भन्दै प्राधिकरणको अनुगमन टोलीले प्रसारणलाइन तथा सवस्टेसनको काम छिटो गर्न आयोजना प्रमुखहरुलाई निर्देशन दिएको छ ।

‘दोर्दी करिडोरमा निर्माणाधीन आयोजना सम्पन्न हुने तर प्रसारणलाइन नबनाइदिँदा विद्युत खेर जाने अवस्था रहेको गुनासो निजी क्षेत्रका उर्जा उत्पादकहरुबाट आइरहेको बेला प्राधिकरणले कार्यप्रगति हेर्दा त्यस्तो अवस्था नआउने जिकिर गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले समस्या समाधान गर्न निर्देशन दिएपछि प्राधिकरणको टोली शनिबार र आइतबार ती क्षेत्रको निरीक्षणमा गएका हो ।

टोलीले लमजुङको उदिपुर, कीर्तिपुर तथा टारीकुना निर्माण हुने र तनहुँको मार्कीचोकमा निर्माणाधीन सवस्टेसनको निरीक्षण गरेको थियो । यसैगरी, हिमालय पावर पार्टनरले निर्माण गरिरहेको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जीको २५ मेगावाटको माथिल्लो दोर्दी ए, पिपल्स हाइड्रोपावरको ४९ मेगावाटको सुपर दोर्दी ख र वुटवल पावर कम्पनीको ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको निरीक्षण गरेको थियो ।

दोर्दी खोलामा निर्माण भइरहेका आयोजनाको विद्युत जोड्नका लागि ११ किलोमिटर कीर्तिपुर–उदिपुर १३२ केभी डबल सर्किट प्रसारणलाइन बनाउन ठेक्का सम्झौता भइसकेको छ । निर्माण १८ महिनाभित्रसक्ने लक्ष्य राखिएको छ । अहिले टावरको डिजाइन भइरहेको आयोजनाले जनाएको छ ।

कीर्तिपुरमा सवस्टेसन बनाउने ४८ रोपनी जग्गामा २५ मेगावाटको माथिल्लो दोर्दी एले विद्युत गृह बनाउने ठाउँ खन्दा निक्लिएको ढुंगा माटो फालिदिएकाले प्राधिकरणले काम सुरु गर्न सकिरहेको छैन । यही कारण ठेकेदारलाई साइट दिन नसकिएको आयोजनाले बताएको छ ।
‘सवस्टेसन बन्ने जग्गामा ढुंगा माटो फालेर प्राधिकरणलाई काम गर्न नदिएको र उल्टै प्रसारणलाइन बनाइदिएन, विजुली खेर जाने भो भन्दै हल्ला गर्ने काम भएको भन्दै प्राधिकरणको टोलीले तत्काल त्यस ठाउँबाट ढुँगा माटो हटाउन निर्देशन दिएको छ ।

आयोजनाको प्रवद्र्धक कम्पनीका प्रवन्ध सञ्चालक डा.आत्माराम घिमिरे र सञ्चालक रामबहादुर पाण्डेले दुई महिनाभित्र ढुंगा माटो फाल्ने प्रतिद्धता जनाएका छन् । आयोजनाको समग्र भौतिक प्रगति ७० प्रतिशत रहेको जानकारी दिंदै घिमिरेले डिसेम्बर २०१८ भित्र निर्माण सक्ने दावी गरे ।

प्राधिकरणसँग भएको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) अनुसार आयोजनाको व्यावासायिकरुपमा विद्युत उत्पादन गर्नु पर्ने मिति (आरसिओडी) भने अगस्ट २०१९ छ ।

हिमालय पावर पार्टनरका कार्यकारी निर्देशक गुरु ढकालले आयोजनाको समग्र भौतिक प्रगति ६५ प्रतिशत रहेको जानकारी दिए । पिपिएअनुसार, आयोजनाको आरसिओडी पनि अगस्ट २०१९ नै रहेको छ ।

प्राधिकरणका प्रवक्ता एवं विद्युत ब्यापार विभाग प्रमुख प्रबल अधिकारीले स्थलगत निरीक्षणपछि दुवै आयोजनाको काम सक्न कम्तीमा पनि दुई वर्ष लाग्ने देखिएको बताए ।

दोर्दी करिडोरमा निर्माण भइरहेका आयोजनाको विद्युत प्रवाह गर्न उदिपुरमा सव स्टेसन बनाउनुपर्छ उदिपुर–मार्किचोक प्रसारणलाइन बन्नुपर्छ । सव स्टेसन निर्माणका लागि तीन महिनाभित्रमा ठेकेदार छनोट भइसक्ने आयोजना प्रमुख चिरन्तन राणाले बताए ।

‘उदिपुर–मार्किचोक–भरतपुर प्रसारणलाइन निर्माणका लागि जनबरी २०१८ बाट ठेक्का कार्यान्वयनमा आइसकेको छ’, राणाले भने, ‘१८ महिनाभित्र सक्ने लक्ष्यका साथ काम भइरहेको छ ।’ खुदीमा सवस्टेसन निर्माणका लागि प्राधिकरणले जग्गा किनिसकेको छ ।

Advertisement

Advertisement

Advertisement