वास्तु के हो ? घर वा कुनै भौतिक संरचना निर्माण गर्दा किन चाहिन्छ वास्तुशास्त्र ?

Advertisement

[caption id="attachment_46655" align="alignleft" width="150"]diwakar-panta लेखक[/caption] वास्तुशास्त्रको ज्ञान वैदिक ज्ञान श्रृखलाको अत्यन्त अमूल्य ज्ञान हो । जसरी हरेक प्राणीले आफ्नो वासस्थानका लागि केही न केही जुक्ति निकालेका हुन्छन, त्यसरी नै मानिसले विकास गरेको ‘वासस्थान निर्माणको विशेष कलाकौशल’ वास्तु हो । जीवनको धेरै समय जहाँ बिताइन्छ त्यस स्थानको वातावरण अवश्य पनि ठिक हुनु नै पर्छ । यही यथार्थलाई महशुस गरेर नै हो, पूर्वीय विद्धानहरुले वास्तुशास्त्र जस्तो अमूल्य ज्ञानको प्रादुर्भाव गरेका हुन । मानव जीवन र समग्र समाजलाई सकारात्मक दिशामा लैजान इनर्जीको प्रयोग कसरी गर्न सकिन्छ ? भन्ने मुल उद्देश्य यसमा रहेको देखिन्छ । जुन विषय कुनै पनि संरचना, आवास, घर, अपार्टमेण्ट, कोलनी, आवास क्षेत्र, सरकारी संरचना, उद्योग कलकारखाना, नहर, तलाउ, पोखरी, धारा आदी जस्ता संरचनाको समुचित निर्माणसँग सम्बन्धित ज्ञान शास्त्र हो ।

Advertisement

वास्तु के हो ? मानिसको शरीर पञ्चतत्वले बनेको हुन्छ । जसरी शरीर पञ्च तत्वले बनेको हुन्छ, यसको सञ्चालनका लागि पनि पञ्चतत्वको निरन्तर आवश्यकता पर्दछ । पृथ्वी, जल, अग्नी, वायू र आकाश यी पञ्चतत्वको सन्तुलन जति ठिक भयो त्यति नै मानिसको जीवन सन्तुलित हुन पुग्दछ शारीरिक र मानसिक हिसावले । तर, त्यसको ठिक विपरित अवस्थामा मानिसको मानसिक र शारीरिक अवस्था असन्तुलित हुन पुग्दछ । त्यसकारण कुनै पनि व्यक्तिको घर, व्यवसायिक प्रतिष्ठान, उद्योग कलकारखाना, आवासका क्षेत्रहरु, वस्ति आदी निर्माणमा यी पञ्चतत्वको सन्तुलित मिश्रण आवश्यक पर्दछ । सो सन्तुलन मिलाउने विद्या नै वास्तुशास्त्र हो ।
पञ्चतत्वको उपलब्धता बिना मानिस ज्यूँदो रहन नै सक्दैन । जति सन्तुलित उपलब्धता हुन्छ, त्यहाँ बस्ने मानिसहरुको जीवनमा उन्नति, प्रगति र सकारात्मक सोचको विकास हुन पुग्दछ । त्यसकारण वास्तु मिले नमिलेको अवस्थाले उक्त संरचनामा बस्ने व्यक्ति र परिवारको जीवनको यात्रा सही वा बेठिक बनाउनका लागि भूमिका खेलेको हुन्छ ।
किन आवश्यक छ वास्तु ? विज्ञान प्रविधिको विकास मानिसको जीवनलाई सहज र सजिलो बनाउका लागि भएको हो । हुनु पनि पर्छ । तर, जतिसुकै विज्ञान प्रविधिको विकास भएता पनि, जीवन सहज भएता पनि, मानिस उल्लेखित पञ्चतत्वविना जीवन ज्युन सक्दैन । हो, त्यसैले आवश्यकताअनुसार पानीको सन्तुलन, आवश्यकताअनुसार आग्नेय तत्वको सन्तुलन, आवश्यकताअनुसार पृथ्वी तत्वको सन्तुलन, आवश्यकताअनुसार हावाको सन्तुलन र आवश्यकताअनुसार आकाशीय तत्वहरु अर्थात उज्यालोको सन्तुलन अति नै आवश्यक छ ।यदि यी पञ्च तत्वमध्ये कुनै पनि तत्वको सन्तुलन नमिल्दा त्यस्तो संरचनामा रहने व्यक्तिमा समस्या शुरु हुन थाल्दछ । त्यो स्वास्थ्य समस्या, धन समस्या, मानसिक समस्यादेखि निरन्तर सपना नराम्रो देख्ने, भयवित भइरहने, पारिवारिक सम्बन्धहरुमा सुमधुरता नहुने, उन्नति प्रगति नहुने जस्ता अवस्था सिर्जना हुन पुग्दछ । वास्तुशास्त्रले कुनै पनि समस्या आएपछि त्यसको उपचारका लागि कुँदिरहने भन्दा पहिले नै समस्या आउन नदिन भूमिका खेल्नु पर्दछ भन्ने मान्यतामा यसको ज्ञान रचिएको देखिन्छ । तसर्थ, यदि सन्तुलित जीवन, सन्तुलित परिवार र सन्तुलित समाज निर्माण गर्ने हो भने वास्तुशास्त्रले देखाएको बाटो अबलम्बन गर्नु वाञ्छनीय हुन आउँछ ।वास्तु विज्ञान हो ? हो, यदाकदा प्रश्न उठ्ने गरेको पाइन्छ, वास्तु विज्ञान हो कि होइन ? अवश्य, वास्तुशास्त्र विज्ञान हो । यानेकी, यो विद्या विज्ञानमा आधारित ज्ञान हो । कुनै पनि संरचना निर्माण अघिदेखि नै यसको परिकल्पना गरि कुन दिशामा के राख्दा वा बनाउँदा ठिक हुन सक्छ भन्ने विषयको यकिन यसैले नै गर्दछ । त्यसैगरी निर्माण भइसकेको संरचनामा कुन कुन वस्तुलाई कता कता राख्दा ठिक हुन्छ र त्यसको ठिक असर पर्दछ भन्ने निक्र्याेल गरिने काम वास्तुको हो र यो आफैमा विज्ञान हो ।जुन दिशामा जुन तत्वको प्रभाव हुन्छ, त्यससँग सम्बन्धित तत्वलाई जागृत गर्दा अवश्य फाइदा मिल्दछ । त्यस विपरित तत्वलाई जागृत गरेमा त्यसको नराम्रो उर्जा पैदा हुन्छ नै । र त्यसले अन्ततः नराम्रो परिणाम निम्त्याउँछ । आखिर त्यही नै विज्ञान हो । पौराणिक कालदेखि मध्यकालिन युगसम्म भारतवर्षमा निर्माण भएका संरचनामा वैदिक वास्तुशास्त्रको प्रयोग भएको स्पष्ट देखिन्छ । त्यसैगरी, नदी, ताल तलैया, कुवा, पोखरी, इनार, धारा जस्ता जलभण्डारका स्रोतको व्यवस्थापन यही वैदिक वास्तु ज्ञानअनुसार गरेकाले भारतवर्षका वासिन्दामा यसको व्यवस्थापन गर्ने आफ्नै मौलिक संस्कृति विकास गरेको स्पष्ट पाइन्छ । साथै भवन संरचनाको पनि आफ्नै मौलिक ज्ञान विकास यही वास्तु शास्त्रीय ज्ञानबाट भएको पाइन्छ । तसर्थ, वास्तुशास्त्र आफैमा विज्ञान हो । यी पञ्चतत्वले सिर्जना गर्ने इनर्जीको उचित प्रयोग गर्दा व्यक्तिको जीवन सफल हुन पुग्दछ । यदि नगरेमा भएको पनि गुम्न पुग्दछ ।आधुनीक समय र यसको प्रयोग हो, आधुनिक समयमा यसको प्रयोग के कसरी भइरहेको छ ? त्यसको समीक्षा हुन आवश्यक छ । वास्तवमा भन्ने हो भने वैदिक वास्तुशास्त्रले परिकल्पना गरेको वास्तुमा आधारित संरचना कम मात्रामा हुने गरेका छन् । त्यसो हुनुमा नेपालले अपनाएको आवास सम्बन्धि गलत नीति हो । कुनै पनि आवास, उद्योग, कलकारखाना, कोलोनी, अपार्टमेण्ट आदी निर्माणका लागि आवश्यक पर्ने जमिनको क्षेत्रफल र अन्य विषयहरुको मापदण्ड नहुँदा जथाभावी संरचना निर्माण हुन पुगेका छन् । त्यस्तो अवस्थामा वास्तुशास्त्रको ज्ञान प्रयोग गरेर संरचना निर्माण गर्न चाहेर पनि नसक्ने अवस्था आएको छ ।साढे दुई आना, तीन आना वा चार आनाका संरचनामा वास्तुशास्त्रले कल्पना गरेको पूर्ण नियम पालना गर्न निकै कठिन हुने गरेको छ । त्यसैले गर्दा अहिले अधिकांश अवस्थामा वास्तुज्ञानको आंशिक प्रयोग भएको देखिन्छ । अर्थात, ती उपलब्ध प्लटमा संरचना बनाउँदा जति सकिन्छ, त्यो हदसम्म वास्तुशास्त्रको ज्ञान प्रयोग गर्ने । अनि बनिसकेका संरचनामा पनि यसको ज्ञानमार्फत सक्दो ठिक ढंगले सन्तुलन कायम गर्ने । यसरी पूर्णतया नभए पनि वास्तुशास्त्रको ज्ञान प्रयोग भइरहेको अवस्था छ । वा प्रयोग गर्नुपर्ने अवस्था छ ।तर, धेरै जमिन लिएर बनाइने संरचनामा भने यसको प्रयोग पूर्णतया गर्न सकिन्छ । बनिसकेका संरचना वा थोरै क्षेत्रफलमा निर्माण हुने संरचनामा पनि वास्तु ज्ञानलाई सक्दो गरि प्रयोग भने गर्न सकिन्छ । त्यसको नतिजा शुभ नै हुने हुन्छ । संरचना निर्माणमा कहिले काँही ‘केही बिग्रिसकेको बिग्रि त गयो अरु थप बिग्रन नदिनेमा’ यसको प्रयोग गर्न पनि सकिन्छ ।इन्जिनियरिङ र वास्तुको समिश्रण यथार्थमा वास्तुशास्त्र इन्जिनियरिङ नै हो । आज भोली शहरी क्षेत्रमा डिजाइन हुने घर तथा संरचनाको डिजाइन गर्दा इन्जिनियर तथा आर्किटेक्चरहरुले वास्तुको पक्षलाई पनि ध्यान दिन थालेका छन् । शुरुको फेजमा इन्जिनियर तथा आर्किटेक्चरहरुले वास्तुशास्त्रको ज्ञानलाई उपेक्षा गर्ने गरेको भए पनि अचेल उनीहरु यसलाई आत्मसाथ गर्न बाध्य भएका छन् । अझ सचेत उपभोक्ताले त आफनो घर तथा संरचनाको डिजाइन गर्दा इन्जिनियरको डिजाईनसँगै वास्तुशास्त्रीको परामर्श पनि सँगै लिने गर्छन । त्यसो गर्दा संरचनागत अवस्था पनि ठिक हुने र वास्तुशास्त्रीय सुत्रको पनि पालना गर्न सकिने हुन्छ ।त्यसकारण इन्जिनियरिङको प्रयोगले वास्तुको मर्म र ज्ञानलाई प्रतिस्थापन गर्ने होइन । त्यसो गर्नाले भौतिकरुपमा मात्र एउटा संरचना निर्माण गर्नुमा मात्र सीमित हुनेछ । यदि त्यो संरचनाको समुचित प्रयोग त्यहाँ सिर्जना हुने इनर्जीलाई सन्तुलित गरि गर्न सकिएन भने त्यस संरचनाको कुनै अर्थ नै रहँदैन ।तसर्थ, वास्तुशास्त्रले परिकल्पना गरेको पञ्चतत्वको समुचित सन्तुलन र त्यसबाट पैदा हुने इनर्जीलाई सन्तुलित ढंगले व्यक्तिको जीवनमा केन्द्रीत गर्ने ज्ञानलाई सबैले आत्मसाथ गरि प्रयोग गर्नु नै सबैका लागि कल्याणकारी हुनसक्छ ।

(पन्त दिव्य दृष्टि ज्योतिष सेवा तथा अनुसन्धान केन्द्रका संस्थापक हुनुहुन्छ । सम्पर्क नम्बर ९८४१५२७५१०)

Advertisement

Advertisement