गणतन्त्र दिवसमा टेलिकमको ‘मिस्ड कल एलर्ट’ सेवा पुनः सञ्चालनमा

Advertisement

काठमाडौंः नेपाल टेलिकमले गणतन्त्र दिवसको दिन ‘मिस्ड कल एलर्ट’ सेवालाई पुनः सञ्चालन गर्ने भएको छ । टेलिकमले गणतन्त्र दिवसको अवसरमा कम्पनीले सो सेवा भोलि मंगलवारदेखि पुनः सञ्चालनमा ल्याउने भएको हो ।

जीएसएम पोष्टपेड तथा प्रिपेड मोबाइलमा यो सेवा उपलब्ध हुनेछ । सेवा सञ्चालनमा आएपछि सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको अवस्थामा र स्वीच अफ भएको अवस्थामा कसैको कल आएमा पछि त्यसको वारेमा एसएमएस मार्फत नोटिफिकेसन आउनेछ ।

सेवा सञ्चालन गर्नको लागि उपभोक्ताले एसयुबी लेखेर १४०० मा एसएमएस गर्ने वा स्टार १४१५ ट्याग डायल गर्नुपर्ने हुन्छ । नेपाल टेलिकमको जीएसएम मोबाइल फोन प्रयोगकर्ताहरुलाई हाल यो सेवा १५ दिनका लागि कम्पनीले निःशुल्क उपलब्ध गराउने भएको छ । त्यसपछि भने मासिक रुपमा ५ रुपियाँ शुल्क लाग्ने छ ।

यस्तै गणतन्त्र दिवसकै अवसरमा कम्पनीले १८ रुपियाँमै एक घण्टासम्म भ्वाइस, एसएमएस र डाटा चलाउन सकिने ‘अनलिमिटेड प्याक’ अफर ल्याएको छ । जीएसएम तथा सीडीएमए मोबाइल प्रयोगकर्ताले सो अफर उपभोग गर्न सक्ने छन् ।

प्रयोगकर्ताले एक घण्टासम्म कम्पनीको नेटवर्क भित्र जति पनि कल गर्न र एसएमएस पठाउन तथा डाटा चलाउन सक्ने छन् । १२ रुपियाँमा कम्पनीको नेटवर्क भित्र एक सय २० वटा एसएमएस पठाउन सकिने ‘एसएमएस प्याक’ पनि ल्याएको छ । सो प्याक ५ दिन भित्र प्रयोग गरिसक्नु पर्नेछ ।

Advertisement

Advertisement

Advertisement