सबै स्थानीय तहमा चार वर्षमा प्राविधिक शिक्षालय, तीन बर्षभित्र कालोपत्र सडक

Advertisement

काठमाडौंः सरकारले सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने बताएको छ । स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा व्यावसायिक शिक्षा प्रदान गर्न प्राविधिक शिक्षालय स्थापना गर्ने मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

ती प्राविधिक शिक्षालय स्थानीय परिवेशका हुनेछन् । अधिकारीले भने, “जुन स्थानीय तहमा जस्तो किसिमको प्राकृतिक स्रोत साधन उपयोग गरेर विद्यार्थीलाई दक्ष बनाउन सकिन्छ, त्यहाँ त्यस्तै किसिमको शिक्षा दिनका लागि शिक्षालय स्थापना गछौं ।”

उनले थपे, “स्थानीय तहका विद्यार्थीलाई स्वरोजगार र व्यावसायिक बनाउन शिक्षालय स्थापना गरिनेछ ।” स्नातक तहसम्मका ती शिक्षालय मन्त्रालयले चार वर्षमा नै स्थापना गरिसक्ने अधिकारीले बताए ।

उनका अनुसार बजेट केन्द्रीय सरकारले विनियोजन गरिदिने र निर्माणको जिम्मा भने स्थानीय तहलाई नै दिइने छ । कृषि, सूचना प्रविधि, ऊर्जालगायत विषय शिक्षालयमा पढाइ हुनेछ ।

यसैगरी सबै स्थानीय तहमा तीन वर्षभित्र कालोपत्रे सडक पुर्याउने विषय बजेटमा ल्याउन लागिएको प्रवक्ता अधिकारीले बताए । चार वर्षभित्र सबै स्थानीय तह र वडा कार्यालयका भवन निर्माण गरिसक्ने पनि सरकारको योजना छ ।

Advertisement

Advertisement

Advertisement