बजेट यथार्थपरक छ, कार्यान्वयन हुने सम्भावना बढि छः कोइराला

Advertisement

काठमाडौंः पूर्व अर्थमन्त्री शंकर कोइरालाले आर्थिक वर्ष २०७५–७६ को बजेट यथार्थपरक भएको बताएका छन् । रिपोर्टर्स क्लवमा बुधबार कोइरालाले स्थिर सरकारले ल्याएको बजेट कार्यान्वयन हुने सम्भावना बढि रहेको बताए ।

बजेटको आकार उचित भएको बताउँदै उनले ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हाँसिल हुने जिकिर गरे । कृषि, पर्यटन, उर्जा र पूर्वाधार क्षेत्रलाई बजेटमा प्राथमिकता दिइएकाले आर्थिक वृद्धिदरको लक्ष्य हाँसिल हुनसक्ने कोइरालाले बताए ।

पाँच लाख रोजगारी सृजना गर्ने लक्ष्य सकारात्मक भएको भन्दै कोइरालाले अहिले नै बजेटबारे नकारात्मक टिप्पणी गर्न नहुने जिकिर गरे ।विगतका सरकारले ल्याएका कार्यक्रमलाई निरन्तरता दिनु सकारात्मक पक्ष भएको भन्दै नयाँ कार्यक्रम ल्याउनुअघि पहिलाको योजना सफल बनाउने नीति उचित भएको उनको भनाई छ ।

बजेटमा प्रदेश र स्थानीय तहलाई भने पर्याप्त रकम नदिइएको कोईरालाको गुनासो छ । संघीयता कार्यान्वयन भएपछिको पहिलो वर्षमा नै प्रदेश र स्थानीय सरकारलाई थोरै बजेट दिनु गलत भएको उनको ठहर छ । त्यसैगरी उर्जा क्षेत्रलाई प्राथमिकतामा राखिएपनि कार्यान्वयन गर्न सकिने योजना भने समावेश नगरिएको कोइरालाले टिप्पणी गरे ।

पश्चिम सेति जलविद्युत आयोजना स्वदेशी लगानीमा बनाउने सरकारको योजना पनि उचित नभएको उनको ठम्याई छ । महत्वपूर्ण आयोजना भएरपनि बुढिगण्डकी जलविद्युत अयोजनाबारे बजेट मौन बसेकोप्रति कोइरालाले प्रश्न उठाए ।

Advertisement

Advertisement

Advertisement