पूर्वप्रधानमन्त्री देउवाको गृहजिल्लामा प्रदेश सात कै कम बजेट

Dadeldhura_district_location

बैतडीः पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रदेश नम्बर ७ कै सबैभन्दा कम बजेट छुट्याइएको छ । मंगलबार सरकारले प्रस्तुत गरेको बजेटमा प्रदेश नम्बर ७ का नौ जिल्लामध्ये सबैभन्दा कम बजेट डडेल्धुराका लागि विनियोजन भएको छ ।

प्रदेश नं ७ का लागि छुट्याइएको कूल २१ अर्ब ७० करोड ७६ लाख रुपियाँ बजेटमध्ये डडेल्धुराका लागि एक अर्ब ५२ करोड ७६ लाख रुपियाँ बजेट छुट्याइएको छ । सभापति देउवाको जन्मस्थान गन्यापधुरा गाउँपालिकाका लागि पनि जिल्लाका सबै स्थानीय तहमध्ये सबैभन्दा कम १६ करोड ८९ लाख रुपियाँ बजेट विनियोजन भएको छ ।

बैतडीका लागि कूल दुई अर्ब ४२ करोड ५७ लाख रुपियाँ बजेट विनियोजन भएको छ । जिल्लाका ६ गाउँपालिका र चार नगरपालिकामध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ३६ करोड तीन लाख रुपियाँ र सबैभन्दा कम शिवनाथ गाउँपालिकामा १६ करोड ९६ लाख रुपियाँ विनियोजन भएको छ ।

यस्तै, पाटन नगरपालिकाका लागि ३० करोड ९० लाख रुपियाँ, पुर्चौंडीका लागि ३० करोड २१ लाख रुपियाँ र मेलौली नगरपालिका लागि २३ करोड ५८ लाख रुपियाँ बजेट छुट्याइएको छ । दोगडाकेदारका लागि २३ करोड ५९ लाख रुपियाँ, डिलाशैनीका लागि २१ करोड ४६ लाख रुपियाँ, पञ्चेश्वरका लागि २० करोड ७० लाख रुपियाँ, सिगासका लागि २० करोड ३७ लाख रुपियाँ र सुुर्नया गाउँपालिकाका लागि १८ करोड ७७ लाख रुपियाँ बजेट विनियोजन भएको छ ।

प्रदेश नं ७ मा कैलालीमा सबैभन्दा बढी चार अर्ब १७ करोड २९ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । कञ्चनपुरका लागि दुई अर्ब ५६ करोड ७१ लाख रुपियाँ, बझाङका लागि दुई अर्ब ७३ करोड ७७ लाख रुपियाँ, अछामका लागि दुई अर्ब ४५ करोड ९८ लाख रुपियाँ, दार्चुलाका लागि दुई अर्ब नौ करोड आठ लाख रुपियाँ, डोटीका लागि एक अर्ब ९४ करोड ५५ लाख रुपियाँ र बाजुराका लागि एक अर्ब ७८ करोड रुपियाँ पाँच लाख बजेट विनियोजन गरेको छ ।