क्यासिनो अन्नाका मजदुरहरुलाई पुर्नबहाली गर्न सर्वोच्चको आदेश, पूरानो सुविधा पनि दिनुपर्ने

Advertisement

काठमाडौंः लामो समयदेखि आफूहरुलाई पुर्नबहाली गर्न माग गर्दै आएका होटल अन्नपूर्णस्थित क्यासिनो अन्नाका मजदुरहरुलाई पूरानो दायित्वसमेत पाउनेगरी यथावत काममा लगाउनसर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्वोच्चको यही जेठ १४ गते आदेश दिँदै अन्तरिम आदेश दिँदै नयाँ क्यासिनो स्थापना भएपछि तत्कालिन क्यासिनो अन्नाको दायित्व बहन गर्नु नपर्ने भन्ने होटल अन्नपूर्णको जिकिरलाई अस्वीकृत गरिदिएको छ ।

साथै, तत्कालिन क्यासिनो अन्नामा कार्यरत ९२२ मजदुरमध्ये इच्छुकलाई क्यासिनो अन्नाकै हिसावमा यथावत काममा लगाउन विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयदेखि होटल अन्नपूर्णलाई दिइएको आदेशमा उल्लेख गरिएको छ ।

आदेशमा भनिएको छ– निवेदकको अन्तरिम आदेश जारी पाउँ भन्ने मागको सम्वन्धमा निवेदनसाथ पेश भएको फैसलाको प्रतिलिपिसहितका कागजाजहरुको अध्ययनबाट नयाँ नामको कम्पनी दर्ता भएको कारणबाट दायित्व बहन गर्नुनपर्ने भन्ने नदेखिँदा र निवेदक कामदार कर्मचारीलाई काममा नलगाउँदा निजहरुले कम्पनीबाट प्राप्त गरेको सुविधाबाट बन्चित हुनुपर्ने अवस्थाको सिर्जना भई कर्मचारीको जीवन निर्वाहमा पुग्ने क्षतिसमेतलार्य विचार गरी कम्पनीको नियमलाई पूर्णतः आत्मसाथ गर्ने र उल्लङघन नगर्ने शर्तमा निवेदकहरुमध्ये इच्छुक कामदार एवं कर्मचारीहरुलाई यथावत काममा लगाउनु, गरिरहेको कामबाट ननिकाल्नु र निकाल्न नलगाउनु ।

अदालतको आदेशसँगै क्यासिनो अन्नामा दशकौंसम्म जीवन बिताएर पनि आफ्नो रोजीरोटीबाट बन्चित भएका सयौं मजदुरहरुलाई न्याय मिल्ने आशा बढेको छ । आफूहरुले जम्मा गरेको सञ्चयकोषदेखि नियमानुसार पाउनुपर्ने उपदान, तलव सुविधा गरी करोडौं रुपियाँको दायित्व अन्नपूर्ण होटलमाथि रहे पनि होटल सञ्चालिका सिर्जना राणाले भने नयाँ क्यासिनो सुरु गरेर पूरानो दायित्वबाट बन्छिने प्रयास गर्दै आएकी थिइन ।

तत्कालिन बिद्रोही नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि उक्त पार्टीसम्वद्ध मजदुर युनियनलाई हात लिएर भारतीय व्यापारी राकेश वाधवाले नेपालमा लामो समयदेखि क्यासिनो सञ्चालन गर्दै आएको अमेरिकी आरडी टटललाई लखेटेपछि क्यासिनो अन्नासहित अन्य क्यासिनोका मजदुरहरुको तलव सुविधा अनियमित हुनुका साथै राज्यलाई दिनुपर्ने राजश्य तिर्न छोडेका थिए ।

त्यससँगै एकाएक धनी भएका माओवादी सम्वद्ध युनियनका अतिपय मान्छेहरुले आफूलाई नै क्यासिनोको मालिक घोषणासम्म गर्नुका साथै क्यासिनोमा कुटपिट, झगडा, गुटबन्दी, युनियनका नाममा केही टाठा बाठाले मात्रै फाइदा लिने, कमजोर कर्मचारी एवं मजदुरहरु तलव सुविधा पाउनबाट बन्चित हुने, क्यासिनोको मालिक बन्ने, बनाउने र फ्याक्ने नाममा प्रहरी प्रशासन र राजनीतिक हस्तक्षेप बढाउने जस्ता कामहरु भएका थिए ।

क्यासिना अन्नाको समस्यालाई सल्टाएर व्यवस्थित गर्नुको सट्टा होटल अन्नपूर्णकी सञ्चालक सिर्जनाले तत्कालिन अधिराजकुमार धिरेन्द्र शाहको नाममा रहेको उक्त होटल आफ्नो बनाउन मात्रै ध्यान दिँदै आएन । नियमानुसार नेपाल ट्रष्टको नाममा हुनुपर्ने अन्नपूर्ण होटल तत्कालिन मुख्यसचिव लीलामणि पौडेलले बदनियतपूर्ण ढंगले १० प्रतिशत मात्रै नेपालमा ट्रष्टमा राखेर बाँकी सिर्जनाको नाममा गरिदिएका थिए ।

राजश्व नतिरेको भन्दै सरकारले बन्द क्यासिनो अन्नाको इजजात रद्द गरिदिएपछि बन्द अवस्थामा रहेको क्यासिनो अन्नाको भवन २०७२ वैशाखको भूकम्पपछि सिर्जना राणाले भत्काइदिएकी थिइन । त्यसपछि उनले पूरानो क्यासिनोको दायित्व आफूले नलिने गरी नयाँ कम्पनीमार्फत नयाँ नाममा क्यासिनो सञ्चालनको प्रक्रिया अघि बढाएकी थिइन ।

होटल अन्नपूर्ण कै नाममा नियुक्ति लिएका क्यासिनो अन्नाका मजदुरहरुको दायित्व होटलकै हुने कानुनी व्यवस्था हुँदाहुँदै सिर्जनाले पूरानो दायित्व आफूले नलिने भन्दै नयाँ क्यासिनो सञ्चालनका लागि नेता, मन्त्रीदेखि ट्रेड युनियनका नेताहरुसँग लबिङ गर्दै आएकी थिइन ।

तत्कालिन पर्यटनमन्त्री जितेन्द्र देवले संसदीय समितिदेखि अदालतको आदेशलाई बेवास्ता गर्दै क्यासिनो प्यालेसका नाममा नयाँ कम्पनीलाई होटल अन्नपूर्णमा क्यासिनो सञ्चालनको इजाजत दिलाएका थिए । अदालतको पछिल्लो आदेशसँगै लामो समयदेखि आफ्नो पेशागत अधिकारका लागि लड्दै आएका मजदुरहरुको रोजगारी पुर्नबहाली हुने देखिएको छ ।

Advertisement

Advertisement

Advertisement