नाट्टाले स्वागत गर्यो बजेट, भारत चीन लक्षित प्रर्बधन कार्यक्रम सकारात्मक

Advertisement

काठमाडौंः नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७५÷७६ को बजेटको स्वागत गरेको छ ।

आगामी ५ वर्षमा आठ प्रतिशत हाराहारीको आर्थिक वृद्धिदर र थप पाँच लाख व्यक्तिलाई रोजगारीमा आबद्ध गर्ने लक्ष्यसहित निजी क्षेत्र विशेषगरी पर्यटन क्षेत्रमा आगामी आवमा प्रदेश र स्थानीय तहसँगको साझेदारीमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि मुलुकभर कम्तीमा एक सय वटा नयाँ पर्यटकीय गन्तव्यस्थलको पहिचान गरी विकास तथा प्रवद्र्धन गर्न बजेट छुट्याइनु, हालको पर्यटनलाई बाह्रैमास चलायमान बनाउन भारत र चीन लक्षित पर्यटक प्रवद्र्धन जस्ता बजेटका कार्यक्रम सकारात्मक रहेका नाट्टाले शुक्रवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी पर्यटकीय सेवाका लागि आवश्यकीय पूर्वाधार निर्माण, नेपाललाई माइस टुरिजम केन्द्रका रुपमा विकास गर्न आवश्यक पूर्वाधारको विकास, पर्यटन विश्वविद्यालयको स्थापना, अन्तर्राष्ट्रिय बजारमा नेपाली पर्यटनको प्रचार–प्रसार र बजारीकरण गर्न विदेशस्थित नियोगको परिचालनलगायत सन् २०२० सम्ममा २० लाख अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने गरी भिजिट नेपाल २०२० अभियान सञ्चालन गर्ने जस्ता कार्यक्रमको कार्यान्वयन पर्यटन क्षेत्रका लागि निश्चित रुपमा सुखद भविष्यको संकेत भएको नाट्टाको विज्ञप्तिमा उल्लेख छ ।

प्रस्तुत बजेटले पहिलो पटक पर्यटन क्षेत्रलाई बजेटमार्फत प्राथमिकतामा राख्नाका साथै पर्यटन तथा हवाई पूर्वाधारका लागि क्रमशः पाँच अर्ब २० करोड ३४ लाख रुपियाँ र १९ अर्ब ३५ करोड रुपियाँ रकम विनियोजन गर्नु स्वागतयोग्य रहेको बताइएको छ ।

नेपाल वायु सेवा निगमको सबलीकरण, निर्माणाधीन वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलहरुको समयमै समापन, क्षेत्रीय विमानस्थलको स्तरोन्नति र वैकल्पिक आन्तरिक विमानस्थलको निर्माण एवं कतिपय सडक सञ्जालभित्र जोडिनुपर्ने पर्यटक गन्तव्यस्थलको समयानुकूल निर्माण र विकासजस्ता पूर्वाधारहरु पर्यटन क्षेत्रका लागि चुनौतीपूर्ण रहेकोले यी सबै अवरोध र समस्याको क्रमशः निराकरण गर्दै मुलुकको समग्र विकास र निर्माणमा निजी क्षेत्रसँग सहकार्य र साझेदारी गर्नुको अर्को विकल्प सरकारसँग नभएको नाट्टाले उल्लेख गरेको छ ।

Advertisement

Advertisement

Advertisement