प्रधानसेनापति क्षेत्रीले गरे बेलिब्रिज उद्घाटन

Advertisement

बागलुङः कालीगण्डकी करिडोरको बागलुङ, जैमिनी नगरपालिका–७ स्थित लौवा खोलामा बेलिब्रिज निर्माण भएको छ । बेलिब्रिजको शुक्रबार प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उद्घाटन गरे ।

पुल बनेसँगै वर्षायाममा पनि करिडोरको बागलुङ–गुल्मी खण्डमा यातायात नियमित हुने भएको छ । यसअघि बागलुङ खण्डमा तीन बेलिब्रिज निर्माण भई सञ्चालनमा छन् ।

बेलिब्रिजको उद्घाटनपछि प्रधानसेनापति क्षेत्रीले विकास निर्माणका काममा सरकार र नागरिकसँग हातेमालो गरेर अघि बढ्न नेपाली सेना सधैँ तयार रहेको बताए । तीन करोड रुपियाँको लागतमा बनेको बेलिब्रिजको निर्माण गत माघमा शुरु भई वैशाखमा सकिएको थियो । तीस मिटर लामो बेलिब्रिजको भारवहन क्षमता २४ टन रहेको नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलका प्राविधिक सुवेदार हरिशरण पोखरेलले बताए । बजेट अभावका कारण स्तरोन्नतिको काम अघि बढ्न नसकेको उनको भनाइ छ ।

करिडोरको मर्मत, सुधार र स्तरोन्नतिका लागि थप रु एक अर्ब बजेटको खाँचो पर्ने निर्माण कार्यदलले जनाएको छ । नेपाललाई चीन र भारतसँग जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर मार्ग खुलेसँगै सार्वजनिक यातायात सञ्चालनमा छ । नेपाली सेनाले ठूला पुल बनाउन बजेट र समय धेरै लाग्ने हुँदा मार्ग खुलेका ठाउँमा तत्काललाई ‘बेलिब्रिज’ हाल्ने गरेको छ ।

Advertisement

Advertisement

Advertisement