संघीय सरकारले कम बजेट दिएकोमा मुख्यमन्त्री गुरुङको असन्तुष्टि

Advertisement

बागलुङः प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राज्यका सबै तहमा साधन स्रोतको न्यायोचित वितरण हुनुपर्ने बताए। बागलुङ नगरपालिकाले शनिबार आयोजना गरेको कार्यक्रममा राज्यको स्रोत साधनमा सबैको बराबरी हक लाग्ने उनले बताए ।

गुरुङ भने, ‘असमानता, विभेद भयो भने विकास र समग्र प्रक्रिया प्रभावित हुन्छ ।’ उनले संघीय सरकारले प्रदेश नं ४ लाई कम बजेट छुट्याएकामा असन्तुष्टि व्यक्त गर्दै संघीय राज्य व्यवस्थाको मर्मअनुरुप बजेट आएन, स्रोत साधनलाई केन्द्रमै सीमित गर्न खोजिएजस्तो देखिने बताए ।

मुख्यमन्त्री गुरुङले राज्य सत्तामा केन्द्रदेखि स्थानीय तहसम्मको समान हक लाग्ने हुँदा स्रोत साधनको वितरण न्यायोचित हुनुपर्नेमा जोड दिदैें प्रदेश सरकार र स्थानीय तहले जनशक्ति र स्रोत साधनको अभावमा प्रभावकारी काम गर्न नसकेको बताए ।

प्रदेश सरकार बनेको महिनौँ बित्दासम्म संघीय सरकारले कर्मचारी पठाउन नसक्नु दुःखद हो, उनले भने, “प्रदेश सरकार र स्थानीय तहलाई स्रोत साधनले सम्पन्न गर्न सकेमात्र आर्थिक समृद्धिको राष्ट्रिय लक्ष्य पूरा हुन्छ ।”

मुख्यमन्त्री गुरुङले प्रदेश नं ४ को समृद्धिको आधार तयार गर्ने गरी बजेट, नीति र कार्यक्रम ल्याइने बताउँदै पूर्वाधार, सामाजिक र मानवीय विकासलाई पनि प्रदेश सरकारले ध्यान दिने बताए ।

Advertisement

Advertisement

Advertisement