अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म आज म्याराथन

Advertisement

पोखराः विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत आइतबार अन्नपूर्ण आधार शिविरदेखि घान्दु्रकसम्म अन्नपूर्ण म्याराथन हुँदैछ । अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवको तेस्रो चरणको कार्यक्रमअन्तर्गत हुन लागेको म्याराथनमा राष्ट्रिय धावकसहित ६१ जनाले सहभागिता जनाउँदैछन ।

म्याराथनमा सहभागी हुन काठमाडौँलगायत देशका विभिन्न स्थानबाट आएका धावक सबै चार हजार १०० मिटर उचाइको अन्नपूर्ण आधार शिविरमा जम्मा भएको महोत्सव प्रचारप्रसार समितिका संयोजक टंक अधिकारीले बताए ।

उनका अनुसार आइतबार बिहान ७ बजे शुरु हुने म्याराथनमा विभिन्न उमेर समूहका देखि सबैभन्दा ज्येष्ठ धान्द्रुकका ५० वर्षीय कविमान गुरुङको सहभागिता रहनेछ । प्रत्येक वर्षको जुन ३ मा मनाइने ‘अन्नपूर्ण डे’ को अवसर पारेर खेल पर्यटनको विकास र विस्तार गर्ने उद्देश्यसहित अन्नपूर्ण पदयात्रा मार्गमा म्याराथन हुन लागेको महोत्सव आयोजक समिति संयोजक ललित गुरुङले बताए ।

उनका अनुसार म्याराथन अन्नपूर्ण आधार शिविरबाट शुरु भई माछापुच्छ्रे« आधार शिविर हुँदै देउराली, हिमालय, दोभान, बाम्बो, सिनुवा, छोम्रोङ, घुर्जुङ, टाढापानी, भौसी खर्क हुँदै घान्दुकमा आई सम्पन्न हुनेछ ।

गुरुङले भने, “म्याराथनका लागि नौ जना निर्णायक परिचालन गरिनेछ । म्याराथनको रुटमा आवश्यक पर्ने स्वयंसेवक, स्वास्थ्यकर्मी, आवश्यक उपकरण एवं अन्य व्यवस्थापन पूरा भइसकेको छ ।”

जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी विश्वकीर्तिमान राखेको दिनलाई अन्नपूर्ण दिवसका रुपमा मनाइँदै आइएको छ ।

प्रचार संयोजक अधिकारीका महोत्सवका प्रमुख सल्लाहकार यमनाथ सापकोटाका अनुसार म्याराथनमा प्रथम हुने धावकले रु एक लाख र दोस्रोले रु ७० हजार, तेस्रोले रु ५० हजार नगद पुरस्कारको पाउने र उत्कृष्ट १० जना भित्रपर्ने धावकले सान्त्वना पुरस्कार पाउने व्यवस्था गरिएको छ ।

असोज २५ गते अन्नपूर्ण आधार शिविरबाट आरम्भ भएको महोत्सवको दोस्रो चरणगत पुस १० देखि १५ गतेसम्म विविध खेलकुद एवं सांस्कृतिक कार्यक्रमका साथ छोम्रोङमा सम्पन्न भएको थियो ।

महोत्सवको तेस्रो चरणको कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समापन एवं विजयी धावकलाई नगद पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम रहेको छ । रासस

Advertisement

Advertisement

Advertisement