वामबजेटप्रति लगानीकर्ताको अविश्वास कायमै, सेयर बजारको गिरावट झन बढ्यो

Advertisement

काठमाडौंः बजेट जारी भएसँगै सेयर बजारमा निकै सुधार आउने लगानीकर्ताको आशा निराशामा परिणत हुँदै गएको छ । बजेट जारी भएको भोलिपल्ट चार अंकले घटेको सेयर बजार परिसुचक नेप्से त्यसको पर्सिपल्ट १४ अंकले र आज आइतबार ३३ अंकले घटेर एक हजार २७३ कायम भएको छ ।

केपी ओली नेतृत्वको सरकार बनेसँगै लगातार जसो घट्दै आएको सेयर बजारमा कुनै सुधार आउन सकेको छैन । बजेटमा पुँजी बजारलाई लक्षित गरी केही सुधार हुनुका साथै मूल्य अभिवृद्धि करको अन्योल हटाउने काम भए पनि लगानीकर्तामा त्यसको प्रभाव देखिन सकेन । बजेटमा पुँजीगत लाभकरको व्यवस्थापछि लगानीकर्ता थप अन्योलमा पर्दा सेयर बजार प्रभावित हुन पुगेको हो ।

अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारका बारेमा विगतमा दिँदै आएका विवादास्पद अभिव्यक्तिले लगानीकर्ता अहिलेको सरकारप्रति त्यति आश्वस्त हुन नसकेको देखिएको छ । बजार लगातार घट्दा विशेषगरी साना लगानीकर्ता मारमा परेका छन् ।

नेप्से घटेपनि कारोबारमा भने केही सुधार आएको छ । आज ५४ करोड ६६ लाख रुपियाँको सेयर किनबेच भयो । आज उत्पादनमूलकबाहेक सबै समूहको उपसूचकमा गिरावट भएको छ । उत्पादनमूलक समूहमा ३५ दशमलव ८८ अंकको वृद्धि देखिएको छ ।

यस्तै, बीमा समूहमा २९० दशमलव ८३ अंकको गिरावट आएको छ भने वित्तबाहेक सबै समूहमा दोहोरो अंकले घटेको छ । होटेल समूहमा ६१ दशमलव ४४ अंकले, लघुवित्त समूहमा ५५ दशमलव ०७ अंकले, जलविद्युत समूहमा ३३ दशमलव ९ अंकले, विकास बैंक समूहमा ३० दशमलव ३८ अंकले गिरावट आएको छ । साथै, वाणिज्य बैंक समूहमा २६ दशमलव ४ अंकको गिरावट आएको छ ।

Advertisement

Advertisement

Advertisement