‘ओली सरकारले अहिले पाडोलाई भैंसी र भैंसीलाई पाडो भनेर कानुन पास गर्नसक्छ’

Advertisement

काठमाडौंः राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य अनिल झाले फोरम सरकारमा सहभागी हुँदैमा राजपालाई कुनै असर नपर्ने जिकिर गरेका छन् । रिपोर्टर्स क्लवमा आइतबार उनले प्रदेश नम्बर २ मा राजपाको कारणले सरकार नढल्ने बताए ।

झाले भने, ‘ढुक्क हुनुहोस् राजपाकै कारण २ नम्बर प्रदेशको सरकार ढल्दैन । किनकी केन्द्र र प्रदेश सरकारको हैसियत अलग अलग हो । प्रधानमन्त्रीको निर्वाचनमा पनि हामीले तत्कालिन एमाले अध्यक्ष केपी ओलीलाई समर्थन गरेको हो । किनकी उहाँहरुले प्रदेश नम्बर २ मा हामीलाई समर्थन गर्नुभएको थियो । अदला बदली गरेको हो । त्यस्तै फोरम र राजपाले पनि समर्थन गरेपछि दुई तिहाईभन्दा बढिको बहुमत सरकारसँग हुन्छ । यसो हुँदा संविधान संशोधन हुन्छ कि भन्ने हाम्रो एकतर्फी झिनो आशा पनि थियो र छ । जुन दिनसम्म यो आशा रहन्छ हामी सरकारलाई दिएको समर्थन जारी राख्छौं ।’

झाले आफूहरुले ओली नेतृत्वको सरकारलाई विना शर्त समर्थन गरेको पनि जिकिर गरे । त्यस्तै, उनले बजेट आउनुपुर्व नै आफूहरुले प्रधानमन्त्री ओलीलाई भेटेर सुझाव दिएको पनि जनाए । झाले भने, ‘अहिले बजेट आएको छ, बजेटमाथि छलफल जारी छ । नेकपाले पछिल्लो समय एकपछि अर्को छलाङ हान्ने काम गरिरहेको छ । बजेटलाई पनि संशोधन गरेर अघि बढायो भने राम्रो हुन्छ ।’

यद्यपी उनले सरकारले बजेटलाई पारित गर्न सक्ने बहुमत रहेको पनि बताए । उनले भने,‘सरकारले अहिले पाडोलाई भैंसी र भैंसीलाई पाडो भनेर पनि पारित गर्न सक्छ ।’ फरक प्रसंगमा झाले संसद सञ्चालन नियामावली सर्वसम्मतीमै पारित गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘ढिलै होस् । तर छोरा होस् भनेझैं नियामावली पनि सर्वसम्मतीबाटै पारित होस् ।’

Advertisement

Advertisement

Advertisement