भारतीय विदेशमन्त्री चढेको विमान केही समय सम्पर्कविहीन

susma_swaraj

एजेन्सीः भारतीय विदेशमन्त्री सुष्मा स्वराज चढेको विमान शनिवार १४ मिनेटसम्म सम्पर्कविहीन भएको तथ्य बाहिर आएको छ । उक्त जहाज सम्पर्कविहीन हुँदा तनाव सिर्जना भएको विवरण सार्वजनिक भएको हो ।

दक्षिण कोरियाको भ्रमणमा जाने क्रममा स्वराज सवार विमानसँग सम्पर्क स्थापित हुन नसक्दा मरिससको एयर ट्राफिक कन्ट्रोल (एटीसी)ले चेतावनी जारी गरेको र त्यसले तनाव सिर्जना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

united_cement

अधिकारीहरूका अनुसार स्वराज चढेको भारतीय वायुसेनाको विमान र मरिससको एटीसीबीच सम्पर्क विच्छेद भएको थियो । एयरपोर्ट अथोरिटी अफ इण्डियाका महाप्रबन्धक जेबी सिहंले भने मरिससले एकतर्फी रूपमा चेतावनी जारी गरेको बताएका छन् ।

उनका अनुसार सामान्यतया उडेको विमानसँग आधा घण्टासम्म सम्पर्क स्थापित हुन नसकेपछि त्यस्तो चेतावनी जारी गरिन्छ । स्वराज चढेको विमान वायुसेनाको विमान भएको र भारतीय हवाई क्षेत्रमा पनि नभएकाले मालेले मरिससलाई उक्त विमानसँग सम्पर्क स्थापित गर्न भनेको तर मरिससको एटीसीले १४ मिनेटसम्म सम्पर्क स्थापित गर्न नसकेको भारतीय अधिकारीहरुले बताएका छन् ।

एयरपोर्ट अथोरिटी अफ इण्डियाले आइतवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, विमानमा अतिविशिष्ट व्यक्ति सवार भएकाले मरिससले चेतावनी जारी गरेको हुनुपर्छ । इन्धन भर्नका लागि उक्त विमान तिरूवन्तपुरम र मरिससमा अवतरण गर्ने तय भएको थियो।

उक्त विमान शनिवार दिउँसो २ बजेर ८ मिनेटमा तिरूवन्तपुरमबाट उडेको थियो। भारतीय हवाई क्षेत्र कटेपछि दिउँसो ४ बजेर ४४ मिनेटमा मालेको एटीसीसँग सम्पर्क स्थापित भयो ।

विमानसँग सम्पर्क स्थापित भएपछि बल्ल भारतीय उड्डयन अधिकारीहरूले राहत महसुस गरेका थिए । ब्रिक्स भनिने राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन स्वराज दक्षिण कोरिया जान लागेकी थिइन् । बिबिसिको समाचारमा आधारित ।