जेठ २४ र २५ मा ‘साकोस शिखर गोष्ठी’ विदेशका पनि सहभागी हुने

sacos_summit

काठमाडौंः नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको संयुक्त आयोजनामा दुई दिने ‘साकोस शिखर गोष्ठी’ हुने भएको छ ।

नेफ्स्कुनले मंगलबार पत्रकार सम्मेलन गरी यही जेठ २४ र २५ गते गोष्ठी आयोजना गर्न लागेको जनाएको हो । ‘समावेशी आर्थिक विकासः साकोस एकरुपताका लागि कानुनी संहिताको पुनर्सरचना’ भन्ने नाराका साथ आयोजना हुन लागेको गोष्ठीलाई साकोसका उपलब्धिको साझा मञ्चहरुको रुपमा विकास गर्ने, आवश्यक ज्ञान, सीप र प्रविधिको हस्तान्तरण तथा अबलम्बन गर्ने, साकोसमा उच्चतम प्रविधि र औजारहरुको विकास गर्ने जनाइएको छ ।

united_cement

गोष्ठीका संयोजक परितोष पौडेलले गोष्ठीको तयारी पूरा भइसकेको भन्दै नेफ्स्कुनले देशभरका बचत सहकारीको एकरुपता प्रणालीमा जोड दिँदै तेस्रो साकोस शिखर गोष्ठी गर्न थालेको जानकारी दिए ।

उनले गोष्ठीले जोखिममा आधारित अनुगमन, एकीकरण र अभियानको सुरक्षाका लागि स्थिरीकरण कोषका बारेमा बृहत कार्ययोजना तयार पार्ने बताए । सदस्यको गुणस्तरीय जीवन र सामावेशी आर्थिक विकासमा साकोसको भूमिका बढाउन गोष्ठी केन्द्रीत हुने पौडेलले बताए ।

नेफ्स्कूनका अध्यक्ष डिबी बस्नेतले पहिलो र दोस्रो गोष्ठीको करिब ९० प्रतिशत एजेन्डा पूरा भएको दावी गर्दै अहिलेको गोष्ठीपछि मन्त्रालयको सहकार्यमा सहकारीमा लेखा परीक्षण मापदण्ड लागू गरिने बताए ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीकृष्ण मैनालीले बैंक तथा वित्तीय संस्थाले भन्दा पनि सहकारीले रचनात्मक काम गरेको बताए । स्थानीय तहको क्षमता बढाउँदै सहकारीमार्फत आर्थिक विकासमा जोड दिइने उनले बताए ।

नेफ्स्कुनका महासचिव चन्द्र ढकालले गोष्ठीमा ६२० जना सहकारीकर्मीको सहभागिता हुने बताए । अष्ट्रेलियालगायतका विभिन्न देशका सहकारीकर्मीको उपस्थिति हुने यस गोष्ठीले साझा घोषणापत्र जारी गर्ने उनले बताए ।