कुखुराको सुलीबाट चार सय किलोवाट बिजुली उत्पादन सुरु

Advertisement

स्याङ्जाः कुखुरापालन व्यवसाय निकै फस्टाएसँगै कुखुराको मासुमा आत्मनिर्भर बने पनि यसबाट निस्कने सुलीको उचित व्यवस्थापन नहुँदा वातावरणीय समस्या झेल्दै आएकामा अब नेपालमै सुलीबाट विद्युत् उत्पादन गर्न सकिने प्रविधिको विकास भएको छ ।

सामान्यरुपमा खेतबारीमा मलका रुपमा सुलीलाई प्रयोग गरिए पनि ठूला व्यावसायिक फर्मका लागि यसको व्यवस्थापन ठूलै चुनौतीका रुपमा रहेकामा अब त्यसबाट जैविक मलसँगै ग्यास र विद्युत् उत्पादन गरेर स्याङ्जाका एक व्यवसायीले नेपालमै पहिलो उदाहरण प्रस्तुत गरेका छन् ।

पुतलीबजार नगरपालिका–४ भालुपहाड नागडाँडामा खिलुङ–कालिका एग्रो फर्मले सञ्चालन गरेको तीन हजार ५१० घनमिटर क्षमताको अत्याधुनिक बायोग्यास पावर प्लान्टबाट ४०० किलोवाट विद्युत् उत्पादनसँगै दैनिक १५ टन जैविक मल उत्पादन हुने गरेको छ । उत्पादित बिजुली पावर प्लान्टमा प्रयोग गरिएकाले प्राधिकरणबाट लिनुपर्ने बाध्यता छैन । कृषि मन्त्रालयले तोकेको मापदण्डअन्तर्गत रहेर मल उत्पादन गरिएको कम्पनीले जानकारी दिएको छ ।

एग्रो फर्मबाट निस्केको सुलीको व्यस्थापन गर्न र प्लान्टका लागि आवश्यक ऊर्जा व्यवस्थापन गर्न पावर प्लान्ट सञ्चालनमा ल्याएको प्लान्टका प्रबन्ध निर्देशक शोभाकान्त ढकालले बताए । एउटै प्लान्टबाट बायोग्यास, विद्युत् र मल उत्पादन गर्ने अत्याधुनिक यो मुलुककै पहिलो प्लान्ट भएको उनको दाबी छ ।

करीब ३५ रोपनी क्षेत्रफलमा बनाएको बायोग्यास प्लान्टमा फिडिङ, ग्यास डाइजेस्टर, फटिलोरी टयाङ्क, बी क्यान्टर निर्माण गरिएको छ । जसबाट मल फिट्ने, ग्यास बनाउने, बिजुली निर्माण, बाँकी रहेको मल सुकाउने र मललाई प्याकिङ गर्ने काम सहज भएको छ । झण्डै २५ करोड रुपियाँको लगानीमा स्थापना भएको यस प्लान्टबाट दैनिक एक हजार २०० किलो बायोग्यास, ४०० किलोवाट विद्युत् र १५ टन जैविक मल उत्पादन हुने गरेको छ ।

भिरकोट नगरपालिका–७ मा रहेको खिलुङकालिका कुखुरा फर्मबाट ल्याइएको कुखुराको सुली नै यस बायोग्यासको मुख्य कच्चा पदार्थ हो । यसबाहेक गाईभैँसीको मल र खेर गएका तरकारी र अन्य जैविक पदार्थलाई पनि राख्ने गरिएको बताइएको छ । दुई लाखभन्दा बढी कुखुरा रहेको एग्रो फर्मबाट दैनिक निस्कने १२ टन कुखुराको सुली कच्चा पदार्थको मुख्य स्रोत रहेको प्लान्टलाई चार टन गाईभैँसीको मल र दैनिक करीब दुई टन जैविक पदार्थको मिश्रणपछि तीनथरिका वस्तु उत्पादन भएको ढकालले बताए ।

उद्योगबाट उत्पादन हुने बायोग्यास जर्मनी र जैविक मल चिनियाँ प्रविधिमा तयार गरिएको कम्पनीले जनाएको छ । इन्धनका लागि बाहिरी देशको भर पर्नुपर्ने देशलाई इन्धन व्यवस्थापन गर्न यस्ता कम्पनी सहयोगी बनेको ढकालको भनाइ छ । यस प्लान्टको सफल सञ्चालनपछि तनहुँको डुम्रेमा पाँच लाख कुखुराको फर्म स्थापना गरी त्यसको सुलीबाट योभन्दा पनि निकै ठूलो बायोग्यास प्लान्ट निर्माण गर्ने तयारी गरेको छ ।

Advertisement

Advertisement

Advertisement