थ्रीस्टार नुवाकोट गोल्डकपको फाइनलमा

Advertisement

त्रिशूलीः ‘प्रथम नुवाकोट गोल्ड कप’ आजको खेलमा आयोजक नुवाकोट ११ लाई पराजित गरी थ्रीस्टार फाइनलमा प्रवेश गरेको छ । थ्रीस्टारले भोलि हुने दोस्रो सेमिफाइनलका विजेतासँग फाइनलमा प्रतिष्पर्धा गर्नेछ ।

सेमिफाइनलमा ललितपुरे क्लब थ्रीस्टारले आयोजक नुवाकोट–११ लाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरी फाइनलमा स्थान सुरक्षित गरेको हो । बट्टार क्याम्पसको खेलमैदानमा सञ्चालन भएको पहिलो सेमिफाइनलमा थ्रीस्टारका अजे मार्टिनले २ गोल, अजय धिमालले १ र निराजन खड्काले १ गोल गरेका थिए ।

नुवाकोट ११ का दिपेश श्रेष्ठले आठौँ मिनेटमा गोल गरी टोलीलाई अग्रता दिएका थिए । घरेलु मैदानमा घरेलु टोलीले गरेको पहिलो गोलले दर्शकहरुलाई उचाले पनि थ्रीस्टारको निकै दबाब झेलेको नुवाकोटले ३८ औँ मिनेटसम्म मात्र आफ्नो अग्रता कायम गर्न सफल भयो । ३८ औंँ मिनेटमा थ्री स्टारका अजे मार्टिनले गोल गर्दै टोलीलाई बराबारीमा पुर्याए ।

पहिलो गोल गरेको पाँच मिनेटपछि थ्री स्टारका अजे मार्टिनले नै ४३ औँ मिनेटमा दोस्रो गोल गर्दै टोलीलाई २–१ ले अग्रता दिलाए । थ्रीस्टारका खेलाडीको अगाडि कमजोर देखिएको नुवाकोटले ७२ औँ मिनेट तेस्रो गोल खायो । थ्री स्टारका अजय धिमालले ७२ औँ मिनेटमा गोल गर्र्दैै टोलीलाई ३–१ मा पुर्याए ।

खेलमा ८० औँ मिनेटमा थ्री स्टारका निराजन खडक्काले गोल गर्दै टोलीलाई ४–१ मा पुर्याउन सफल भए ।

प्रतियोगितामा थ्री स्टारका अजे मार्टिनलाई ‘म्यान अफ दि म्याच’ घोषित गर्दै १० हजार रुपियाँ प्रदान गरियो । घरेलु मैदानमा हजारौँ दर्शकको साथ पाए पनि नुवाकोटले गोल गर्ने आधा दर्जन अवसर गुमाएको थियो । केही दर्शकहरुले लाइन्स म्यानले सही निर्णय नगरेको भन्दै विवाद निकालेर लाइन्स म्यानलाई आक्रमणको प्रयास गरेपछि भएको विवादमा २० मिनेट खेल रोकिएको थियो ।

जिल्ला खेलकुद विकास समिति र नुवाकोट एन्फाको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता जिल्लाको अहिलेसम्मको सबैभन्दा ठूलो राशिको फुटबल प्रतियोगिता हो । प्रतियोगिताको विजेताले रु पाँच लाख र उपविजेताले रु तीन लाख नगद पाउने छन् । बिहीबार नेपाल पुलिस र कास्की ११ बीच प्रतिस्प्रर्धा हुनेछ ।

Advertisement

Advertisement

Advertisement