नेपाल टेलिकम सेवाको गुणस्तर बढाउन अप्टिकल फाइवर विस्तार गर्दै

Advertisement

काठमाडौंः नेपाल टेलिकमले आफ्नो सेवाको गुणस्तर वृद्धि तथा सेवा विस्तार गर्न अप्टिकल फाइबर नेटवर्क विस्तार कार्यलाई तीव्रता दिएको छ । कम्पनीले आगामी असार मसान्तसम्ममा चार सय किलोमिटर एडीएसएल अप्टिकल फाइबर जडान सम्पन्न गर्ने लक्ष्य गर्ने योजना बनाएको हो ।

जसअन्तर्गत वैशाख मसान्तसम्म तिन सय ७५ किलोमिटर जडान सम्पन्न भइसकेको र बाँकिको एक सय ७५ किलोमिटर पनि असार मसान्तसम्म जडान सम्पन्न गर्ने लक्ष्य लिएको छ । हालसम्म सम्पन्न भएका नेटवर्कहरुमा बसन्तपुर–तिरतिरे–पिलुवा–चैनपुर–तुम्लिङटार–खादबारी, हिले–भोजपुर, डडेलधुरा–दिपायल, दिपायल–सिलगढी–साँफेबगर–मंगलसेन र लमही–तुलसिपुर रहेका छन् ।

त्यसैगरी तामाकोशी पुल–खिम्ती–मन्थली–सिन्धुली बीचको ११५.८० किलोमिटर मध्ये नब्बे किलोमिटर सम्पन्न भएको छ भने बेनी–जोमसोम बीचको ११३.४४ किलोमिटर रुट मध्ये ९५ किलोमिटरमा अप्टिकल फाइबर जडान गर्ने कार्य सम्पन्न भइसकेको छ ।

त्यस्तै, बुड्डी–बिजगौरी, तौलिहवा–मर्यादापुर, डण्डाबजार–चोरमारा, तौलिहवा–बहादुरगञ्ज र कोहलपुर–लम्कीलाई जोड्ने १६३.२ किलोमिटर लामो अन्डरग्राउन्ड अप्टिकल फाइबर नेटवर्क हाल जडान तथा परीक्षण सम्पन्न भई सञ्चालनको तयारी भइरहेको छ । त्यस्तै केरखा–कोरोबारी र गौरादह–कोहोबारा जोड्ने अप्टिकल नेटवर्क जडान सम्पन्न भई स्प्लाइसिङ र टेस्टिङको चरणमा छ ।

स्याफ्रुबेसी–रसुवागढी १५ किलोमिटर मध्ये दश किलोमिटर ट्रेन्चिङ र डक्टिङ कार्य सम्पन्न भइसकेको छ भने बाँकी खण्डमा ट्रेन्चिङ र डक्टिङ कार्य भइरहेको छ । अप्टिकल फाइबर नेटवर्कमार्फत पहाडी जिल्लाका सदरमुकामहरु र विभिन्न जिल्लाका नगरपालिका तथा सहरोन्मुख क्षेत्रहरु आवद्ध हुने छन् ।

ती पहाडी जिल्लाहरु भोजपुर, संखुवासभा, खोटाङ, रामेछाप, दोलखा, मुस्ताङ, दैलेख, डडेलधुरा, डोटी, अछाम र बैतडी लगायतका जिल्लाहरु हुन् । यसबाट हाल सञ्चालनमा रहेका ३८ एक्सचेन्ज, ३४ बीटीएस र १९ रिपिटरहरुमा अप्टिकल फाइबर सञ्जाल विस्तार गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement