पुँजी बजारमा कम्युनिष्ट फोविया

Advertisement

काठमाडौंः लामो राजनीतिक अस्थिरतापछि बहुमतको सरकार अन्य आर्थिक सुचकहरुसँगै पुँजी बजारले पनि उचाई लिने आम लगानीकर्ताको विश्वास अब करिव टुटेको छ । पुँजी बजारप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्पष्ट दृष्टिकोण नहुँदा बजार अझै ओरालो लाग्ने पछिल्लो घटनाक्रमले देखाएको छ ।

सेयर बजारलाई कुनै पनि मुलुकको आर्थिक विकासको इन्डिकेटरको रुपमा लिइन्छ । सरकारको नेतृत्व गरिरहेकाहरुबाट आर्थिक विकासमा महत्वाकाँक्षी कुराहरु गरिरहँदा पुँजी बजार थप धरासायी भई लगानीकर्ताहरु यस क्षेत्रबाट पलायन हुने अवस्था बढेको छ ।

नेपालको पुँजी बजारको विकासका लागि नयाँ लगानीकर्ताहरुलाई आकर्षित गर्नुपर्ने बेला भएका लगानीकर्ता नै पलायन हुने स्थिति शुभ संकेत होइन । राजश्व बढाउने नाममा अनुदार ढंगले करको भारी थोपर्ने केपी ओली नेतृत्वको सरकारको निर्णय, विशेषगरी अर्थतन्त्र बुझेका व्यक्ति भनेर प्रयार गरिएका अर्थमन्त्री युवराज खतिवडाको दृष्टिकोणले भोलिका दिनमा समग्र आन्तरिक तथा बाह्य लगानी प्रभावित हुने पूर्वानुमान गर्न सकिन्छ ।

सेयर लगानीकर्ताले थेग्न नसक्नेगरी पुँजीगत लाभकर बढाउने र लगानीकर्ताहरु आन्दोलनमा उत्रिएर बजार नै ठप्प भएपछि कर फिर्ता गर्न सहमति जनाउनुले अर्थमन्त्री खतिवडाको कर नीति गलत छ भन्ने प्रमाण् हो । सहमतिले अर्थमन्त्रीमाथि नैतिक प्रश्न पनि उठेको छ ।

अर्थमन्त्री आफै नैतिक संकटमा पर्ने भएपछि सेयर लगानीकर्तासँग सम्झौता गरेको भोलिपल्टै उनीहरुसँग गरिएको सम्झौता उल्ट्याउने र साउनबाट बजेट अनुसारकै लाभकर लगाउने कुरा गर्नु लगानीकर्ताहरुमाथि अर्को धोका हो ।

कम्युनिष्ट सरकार, विशेषगरी युवराज खतिवडाको अर्थमन्त्री हुनुअघि नै लामो समयदेखिको सेयर बजारप्रतिको नकारात्मक दृष्टिकोणको प्रभाव अहिले पूँजी बजारमा परेको छ । बढाइएको लाभकर तत्काल लागू नगर्ने सम्झौता भएकै भोलिपल्ट सेयर बजारमा भारी गिरावट हुनुले वर्तमान वामअर्थतन्त्रप्रति लगानीकर्ताको विश्वास नरहेको यसले पुष्टि गर्दछ ।

राज्यले जनतालाई सामाजिक सुरक्षा एवं अन्य सुविधाको कुनै सुनिश्चिता नगरी कर मात्रै थोपर्ने वर्तमान सरकारको निर्णयप्रति करदाताको असन्तुष्टि बढदै गएको छ । सामाजिक सञ्जालमा सरकारी निर्णयप्रति देखिँदै आएको आलोचनात्मक दृष्टिकोणले भोलिका दिनमा बजेट कार्यान्वयन त्यत्तिकै चुनौतिपूर्ण हुने देखिएको छ ।

सरकार पूँजी बजारलाई उत्साहित बनाउन भन्दा पनि नयाँ नयाँ प्रोपोगाण्डा गरेर निरुत्साहित गराउन उद्यत रहेको लगानीकर्ताहरुले आरोप लगाउँदै आएको बेलामा सरकारले पुँजी बजार समग्र निजी क्षेत्रप्रतिको आफ्नो दृष्टिकोण स्पष्ट गर्नुपर्ने स्थिति आएको छ ।

अर्थतन्त्र पढनु र बुझेर व्यवहारिक कार्यान्वयन गर्नु फरक कुरा हो । यतिबेला अर्थमन्त्रीको क्षमताको परीक्षणको समय पनि छ । पुँजीबजारका बारेमा बारम्बार नकारात्मक दृष्टिकोण राख्दै आएको अर्थमन्त्री खतिवडा अर्थनीतिका बारेमा अन्य जानकारहरुसँग परामर्श गर्न पनि रुचाउँदैनन् ।

निजी क्षेत्र नाफामुखी हुन्छ र लगानी डुबाउने गरी कसैले पनि लगानी गर्दैन भन्ने कुरालाई खतिवडाले मनन् नगर्ने हो भने भोलिका दिनमा निजी लगानी प्रवद्र्धन हुन कठिनाई छ । साथै, झण्डै दुईतिहाई बहुमतको सरकार केन्द्रीय संसदमा दुईतिहाईको सरकार बनाउन साना दललाई सरकारमा सामेल गर्नु, प्रदेश नं. २ मा पनि कम्युनिष्ट सरकार निर्माणका लागि कसरत हुनु, उत्तरी छिमेकी चीनसँग सम्वन्ध विस्तार गर्दै जानु, अधिकारजति प्रधानमन्त्रीमातहत केन्द्रीत गर्ने जस्ता धेरै कुराहरुले कम्युनिष्ट सरकार के गर्न खोज्दैछ ? भनेर लगानीकर्तामा आशंका बढ्नु स्वाभाविक हो ।

सँगसँगै पुँजीबजारमा हुने अस्वाभाविक उतार चढाव र चलखेलले गर्दा पनि धेरै मानिसहरुमा यस क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन सकेको छैन । त्यस कुरामा सरोकारवालाहरु सचेत र जिम्मेवार हुनु जरुरी छ । दश लाख भन्दा बढि लगानीकर्ताको १५ खर्ब रुपियाँभन्दा बढि लगानी भइसकेको पुँजी बजारलाई अनुत्पादक क्षेत्र वा जुवाघर भनेर यसलाई धरासायी बनाउन हुँदैन । यस्तो स्थिति आउन नदिन लगानीकर्ताका अगुवादेखि स्टक ब्रोकर अझै बढि चनाखो हुनु जरुरी छ ।

Advertisement

Advertisement

Advertisement