कुलेखानीको जनेरेटरमा समस्या आउँदा ४५ मेगावाट उत्पादन घट्यो, ठाउँ ठाउँमा लोडसेडिङको समस्या

Advertisement

काठमाडौंः नेपाल विद्युत प्राधिकरणले ३२ मेगावाट जडित क्षमताको कुलेखानी दोस्रो जलविद्युत केन्द्रको एउटा युनिट (१६ मेगावाट)को जेनेरेटरमा समस्या देखिएको जनाएको छ ।

युनिट दुईको जेनेरेटरको ‘स्टेटर वाइन्डिङ’मा समस्या देखिएपछि २० जेठदेखि केन्द्रबाट १६ मेगावाट विद्युत उत्पादन बन्द रहेको भन्द्र प्राधिकरणले ‘स्टेटर वाइन्डिङ’को मर्मत गर्नु पर्ने भएकाले कुलेखानी पहिलो र दोस्रो जलविद्युत केन्द्रबाट ४६ मेगावाट मात्रै विद्युत उत्पादन भइरहेको र ४६ मेगावाट बन्द रहेको जनाएको छ ।

कुलेखानी दोस्रोको एउटा युनिट बन्द भएको अवस्थामा पहिलोलाई ६० मेगावाटमा चलाउँदा जलाशयको पानी खेर जाने भएकाले पहिलो पनि ३० मेगावाटमा मात्रै सञ्चालन गरिएको छ । कुलेखानी पहिलोबाट विद्युत उत्पादन गरी निक्लिएको पानीबाट दोस्रो विद्युत गृह सञ्चालन हुन्छ ।
विद्युतको माग बढेका बेला आवश्यकताका आधारमा मात्रै सञ्चालन गरिने कुलेखानीको पहिलो आयोजनामा पहिलोमा ३०÷३० मेगावाटका दुईवटा र दोस्रोमा १६÷१६ मेगावाटका दुईवटा टर्बाइन छन् । अहिले दुवै विद्युत गृहका एउटा÷एउटा मात्रै टर्बाइन चलाइएको प्राधिकरणले जनाएको छ ।

पछिल्लो समयमा विभिन्न स्थानमा देखिएको लोडसेडिङको समस्या पनि कुलेखानीको उत्पादन आएको समस्या एउटा कारण भएको प्राधिकरण जनाएको छ । केही दिनअघि विभिन्न जिल्लामा हावाहुरीका कारण प्रसारणलाइनमा समस्या आएको भन्दै प्राधिकरणले ठाउँ ठाउँमा लोडसेडिङ गरे पनि त्यसमा कुलेखानीको उत्पादनमा आएको कमीलाई कारणको रुपमा देखाएको थिएन ।

शुक्रबार भने प्राधिकरणले जेनेरेटरमा समस्या आएर कुलेखानीको ४५ मेगावाट विद्युत उत्पादन हुन नसकेको तथ्य स्वीकार गरेको हो । कुलेखानी दोस्रो विद्युत केन्द्रका प्रमुख आभाष ओझाले मर्मतका लागि उपकरण आपूर्तिकर्ता फुजी इलेक्ट्रिक कम्पनी जापानका प्राविधिक आगामी सोमबार आइपुग्ने जानकारी दिएका छन् ।

त्यसपछि मात्रै मर्मतका लागि लाग्ने समय यकिन हुने उनले बताए । ओझाले भने, ‘हाम्रो अध्ययबाट मर्मत छिट्टै हुन सक्ने देखिएको छ । तर, कति समय लाग्छ कम्पनीका प्राविधिक आएपछि मात्रै भन्न सकिन्छ ।’

Advertisement

Advertisement

Advertisement