‘पत्रकारिताको क्षेत्रमा पनि श्रम कानून कडाइका साथ लागू हुनुपर्छ’

Advertisement

काठमाडौंः सञ्चार क्षेत्रको विकासका लागि अहिले विनियोजित बजेटले महत्वपूर्ण भूमिका निर्वाह गरेको सहभागीहरुले बताएका छन् । सञ्चार केन्द्र नेपालले शुक्रबार आयोजना गरेको ‘नयाँ बजेटमा सञ्चार क्षेत्र’ विषयक छलफल कार्यक्रममा सञ्चार क्षेत्रमा विगतभन्दा धेरै बजेट विनियोजन भएकाले त्यसलाई कार्यान्वयन गरेर सञ्चारको विकास गर्न सकिने बताए ।

कार्यक्रममा नेकपाका नेता सुरेन्द्र पाण्डेले यसपटक बजेटमार्फत सञ्चार क्षेत्रका लागि ल्याइएको कार्यक्रम राम्रो भएकाले कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । ‘‘पत्रकार दुर्घटना बीमा, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पत्रकारिता विभागलाई पत्रकारिताको अनुसन्धान बनाउने कुरा राम्रो छ’’ उनले भने ‘‘यी कुरालाई कार्यान्वयन गर्न सके सञ्चार क्षेत्रको विकासमा फड्को मारिने छ ।’’

पूर्व अर्थमन्त्री समेत रहेका नेता पाण्डेले श्रम कानून पत्रकारिताको क्षेत्रमा कार्यान्वयन गर्न समस्या परेको भन्दै सरकारले कडाइका साथ लागू गरे पत्रकारको व्यावसायिक सुरक्षा हुने बताए । उनले पत्रकारले राष्ट्रिय गौरवको ठूला आयोजनाको कार्यान्वयनको अवस्थाका बारेमा खोजी पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले पत्रकारिताको विकास गर्नका लागि यसपटक सञ्चार क्षेत्रमा अधिक बजेट विनियोजन गरिएको बताए । विनियोजित बजेट कार्यान्वयनमा शंका नगर्न आग्रह गर्दै उनले विकासका प्राथमिकताअनुसार नै बजेट आएको जानकारी गराए । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले राजनीतिक व्यक्तिले बजेट नबनाएको हुनाले श्रमजीविको पक्षमा नरहेको बताए ।

Advertisement

Advertisement

Advertisement