चालु आर्थिक बर्षको 'व्यालेन्ससिट'बाट मुनाफा वितरण सुरु गर्न सक्षम हुँदैछौंः नेपाल बैंक

Advertisement

काठमाडौंः नेपालको जेठो बैंक नेपाल बैंक लिमिटेडले चालु आर्थिक बर्षको व्यालेन्स सिटबाट सेयरधनीहरुलाई मुनाफा वितरण गर्न आफूहरु सक्षम हुने दावी गरेको छ ।

बैंकले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले विगत दुई बर्षदेखि सेयरधनीलाई केही दिन नसके पनि चालु आर्थिक बर्षको व्यालेन्स सिट स्वीकृत भएपछि आफूहरुले लाभांश घोषणा गर्नसक्ने बताए ।

शाहका अनुसार बैंकको एक्युमुलेट लस नै जिरो भइसकेको र नाफाको आकार पनि बढ्दै गएकाले मुनाफा वितरण गर्न संभव रहेको छ । बैंकको अझै पनि १५ अर्ब रुपियाँभन्दा बढिको अचल सम्पत्ति भए पनि यसको वासलातमा मूल्यांकन लाखमा रहेको भन्दै उनले यसको सही मूल्य वासलातमा राख्न सकिने हो भने बैंकको वित्तीय अवस्था अहिलेको भन्दै निकै राम्रो देखिने थियो भने ।

शाहले नेपाल बैंकको राष्ट्रिय बीमा कम्पनीलगायत विभिन्न कम्पनीहरुले चार अर्ब रुपियाँको सेयर रहेको, पोखराको फुलबारी रिसोर्ट किन्न मानिसहरु आइरहेकाले किनेपछि होटलमा भएको बैंकको ७५ करोड लगानी तथा त्यसको ब्याजसमेत (ऋण पूरै प्रोभिजन भइसकेको) अशुल भएपछि पूरै नाफामा जाने बताए ।

राष्ट्रिय बीमा कम्पनीमा मात्रै बजार मूल्यअनुसार एक अर्ब रुपियाँको सेयर रहेको, नागरिक लगानी कोष, डिप्रोक्स लघुवित्त, आरएमडीसी, नेपाल इस्योरेन्स कम्पनी, राष्ट्रिय बीमा संस्थानमा रहेको बैंकको लगानी व्यालेन्स सिटमा परल मूल्यमा देखाइएको तर ती संस्थाहरुको वित्तीय अवस्था बलियो रहेकोले तिनको सेयर बजारमा राम्रो मूल्यमा बिक्री भइरहेको नेपाल बैंकले तर्क प्रस्तुत गरेको छ ।

नेपाल बैंकले प्रतिकित्ता २८० रुपियाँ दरले एफपिओ निष्काशन गर्न लागेको बेलामा पत्रकार सम्मेलन गरी आफ्नो वित्तीय प्रगति सार्वजनिक गरेको हो । बैंकले एक अर्ब ७६ करोड ८४ लाख रुपियाँ बराबरको एफपिओ निष्काशन गर्न लागेको हो ।
एफपिओ निष्काशनपछि बैंकको आर्थिक स्थिति थप मजबुत भई लाभांश दिने क्षमता बढने भन्दै प्रमुख कार्यकारी अधिकृत शाहले यसबाट बैंकलाई एक अर्ब ७६ करोड पुँजीमा र तीन अर्ब १६ करोड संचित कोषमा थपिने जानकारी दिए ।

नियमित कमाईबाहेक थपिएको सेयरबाट नयाँ पूराना सबै सेयरहोल्डरहरुलाई ३२ प्रतिशतसम्म बोनस सेयर दिन पुग्ने बैंकले जनाएको छ । तर, कुन बर्षमा कति लाभांश दिने भन्ने कुरा सञ्चालक समितिले निर्णय गर्ने भएकोले अहिले नै भन्न नसकिने शाहले बताए ।

एफपिओ निष्काशनका लागि हालै गरिएको क्रेडिट रेटिङमा बैंकले तीन प्लस स्थान पाएको थियो । यो अन्य बैंकहरुको भन्दा माथि रहेको नेपाल बैंकको भनाई छ । नेपाल बैंकले आफ्नो प्राइस अर्निङ रेसियो अहिले सात टाइम्सको हाराहारीमा रहेको जनाएको छ । यसले बजारमा बैंकको मूल्य हुनुपर्नेभन्दा कम छ, अझै बढ्ने छ भन्ने सन्देश दिएको शाहले बताए ।

तर, बैंकको वित्तीय अवस्था राम्रो हुँदाहुँदै पनि बजारमा आफ्नो बैंकको सेयर मूल्य अस्वाभाविकरुपमा कम हुनुमा अदभूत शक्तिले काम गरिरहेको प्रमुख कार्यकारी अधिकृत शाहको तर्क छ । नेपालमा सेयर बजारमा कहिलेकाहीं तर्कले काम नगर्ने उनले बताए ।

Advertisement

Advertisement

Advertisement