‘सात महिनाभित्र जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुन्छ’

Advertisement

महेन्द्रनगर, धनुषाः भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सात महिनाभित्र नेपाल–भारत रेल सेवा सञ्चालन हुने बताएका छन् । जयनगर–जनकपुर निर्माणाधीन रेल्वेको कार्यप्रगतिकोआइतबार निरीक्षण गर्दै उनले सात महिनाभित्र नेपालमा रेल कुद्ने बताए ।

मन्त्री महासेठले धनुषाको खजुरी रेल्वे स्टेशन पुगेर रेल्वे लिक, कर्मचारी आवास गृह, स्टेशनको निरीक्षण गरे । भारतको पाँच रेल्वेसँग जोडिने नेपालको पूर्व–पश्चिम रेल्वे सञ्जालका लागि जयनगर–जनकपुर खण्डमा स्लिपर र ट्र्याक ओछ्याउने कार्य तीव्र गतिमा हुँदैछ । निर्माणाधीन उत्तर–दक्षिण रेल्वेको ट्र्याक बर्दिबाससम्म बिच्छ्याइएपछि पूर्व–पश्चिम राजमार्ग भारतीय रेल्वे सञ्जालसँग जोडिनेछ ।

निरीक्षण टोलीमा रहनुभएका रेल विभागका महानिर्देशक आनन्द आचार्यले भारत सरकारले निर्माण गरिरहेको जयनगर–जनकपुर–बर्दिबास ६९ किमी रेल्वेको दुई खण्डको काम ८० प्रतिशत सकिएको बताए ।

विभागका इन्जिनियर विनोद ओझाले भारतीय रेल्वेको ठूलो जक्सन जयनगरसँग जोड्न नेपालमा निर्माण भई रहेको ६९ किमी रेल्वेअन्तर्गत ५२ किमीमा स्लिपर र ट्र्याक बिच्छ्याउन थालिएको बताए । उनले ३४ किमिको पहिलो खण्ड जयनगरदेखि कुर्थासम्मको सिभिल कन्स्ट्रक्सनको काम कात्तिकसम्ममा सकिने बताए । ओझाका अनुसार १८ किमीको दोस्रो खण्ड कुर्थादेखि भंगहासम्म रेल्वेको सबै निर्माण सकिए पनि स्लिपर र ट्र्याक ओछ्याउन बाँकी छ ।

करीब ५२ किमीको क्षेत्रमा पुल, कल्भर्ट, स्टेशन भवन, प्लेटफर्म, कर्मचारी निवासको निर्माण भइसकेको छ । ६९ किमीको रेल्वे मार्गमा ११२ पुल र कल्भर्ट निर्माण गर्नुपर्छ । असीदेखि १३० मिटर फराकिलो बनाइएको रेल्वे मार्ग ब्रोडगेज हो ।

“जयनगरदेखि भंगहासम्म स्लिपर र ट्र्याक ओछ्याउन मात्र बाँकी छ”–इन्जिनियर ओझाले भने, “स्लिपर र ट्र्याक रेलवे मार्गमा झारिएको छ, जोड्न मात्र बाँकी छ ।” सन् १९९४ मा भारत सरकारले नै निर्माण गरिदिएको जयनगर–विजलपुरासम्म ५१ किमिमा रहेको न्यारोगेजको रेल्वे मार्गलाई ब्रोडगेजमा परिणत गरिँदै छ ।

रेल्वे विभागले भंगहादेखि बर्दिबाससम्मको १७ किमी रेल्वे निर्माणका लागि जग्गा अधिग्रहण गरी भारतीय पक्षलाई हस्तान्तरण गर्न बाँकी छ । सन् २०१० मा भारत सरकारले ५४८ करोड भारतीय रुपैयाँमा जयनगर–बर्दिबास रेल्वे मार्ग निर्माणका लागि इरकान इन्टरनेसनललाई ठेक्का दिएको छ ।

चार वर्षदेखि निर्माण भइरहेको रेल्वे मार्गमा आठ स्टेसन र छ वटा हल्ट निर्माण गरिएको छ । जयनगर, इनर्वा, खजुरी, बैदेही, कुर्था, खुट्टापिपराडी, भंगहा र बर्दिबासमा भारतीय रेल्वे शैलीकै स्टेशन निर्माण गरिएको छ ।

महिनाथपुर, देउरीपरवाहा, जनकपुर, लोहारपट्टी, सिंग्याही र रामनगरमा हल्टको निर्माण गरिएको छ । मालवाहक र यात्रुवाहक दुवै सेवा रहने जयनगर–बर्दिबास रेल्वेबाट कोलकाता पोर्टबाट सामान ल्याउन सहज हुनेछ । भारतीय निर्माण कम्पनीले कात्तिकसम्ममा जयनगर–जनकपुरसम्म रेल्वेका सबै काम सक्ने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement