गोरेको अबको बसाई सुन्धाराको गोलघरमा, सुरक्षा थ्रेटका कारण काठमाडौं ल्याइएको

Advertisement

काठमाडौं सनम शाक्य हत्याकाण्डदेखि ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका सुन तस्कर चुडामणि उप्रेतीलाई काठमाडौं ल्याएर सुन्धारास्थित केन्द्रीय कारागार चलान गरिएको छ ।

गोरे उपनामले लोकप्रिय बनेका मोरङको उर्लाबारीका उप्रेतीलाई केन्द्रीय कारागारको गोलघर चलान गरिएको हो । हत्या तथा तस्करीमा दोषी ठहरिएका गोरेविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन तथा सुरक्षाको पूर्ण बन्दोबस्तका लागि बिराटनगरबाट काठमाडौँ ल्याइएको जनाइएको छ ।

संगठित सुन तस्करीका धेरै कुराहरुको जानकार गोरेले पोख खोल्न डरले तस्करकै नाइकेहरुबाट हत्या हुनसक्ने संभावना बढेपछि उनलाई काठमाडौं झिकाइएको हो । गोरेलाई मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि स्थानीय जेलमा नराखी केन्द्रीय कारागारमा सुरक्षासहित राख्न गृह मन्त्रालयले निर्देशन दिएको हो ।

गोलघरको एउटा कोठामा अन्य कैदीबन्दीको सम्पर्कभन्दा बाहिर रहनेगरी राखिने छ । चार दिनमा ३७ पेज लामो बयान दिएका गोरेले सुन तस्करीका बारेमा पुलिसका केही हाकिम, व्यवसायी र नेताको नाम पोले पनि धेरैका अझै गोप्य राखेका छन् ।

गोरेसँगै सोमबार झुम्का कारागारबाट पनि सुन तस्करी तथा सनम हत्याकाण्डमा जोडिएका अन्य दुईलाई पनि काठमाडौँ ल्याइएको छ । गोरेसँगै ल्याइएका भुजुङ गुरुङ र डेबिट उपनामका छिरिङ वाङ्गेल घले (गुरुङ)लाई पनि बेग्ला बेग्लै राखिने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement