सेयर बजारको गिरावट रोकियो, नेप्सेमा एकल अंकको सुधार

काठमाडौंः केही दिनयता लगातार घट्दै आएको सेयर बजार नेप्सेमा साताको दोस्रो दिन भने सुधार आएको छ । सोमबार नेप्सेमा नौ दशमलव ५५ अंकले बढ्दै एक हजार २४१ दशमलव १९ अंक कायम भएको छ ।

आज ४३ करोड ६३ लाख रुपियाँ बराबरका ११ लाख कित्ता सेयर किनबेच भए । नेप्से बढेपनि आज फाइनान्स, विकास बैंक र व्यापार समूहमा गिरावट आएको छ । फाइनान्स समूहमा तीन दशमलव ७१ अंकले, विकास बैंक समूहमा दुई दशमलव ८३ अंकले र व्यापार समूहमा दुई दशमलव ९६ अंकले गिरावट आएको छ ।

nic-asia-ad

यस्तै, आज सबैभन्दा बढी बीमा समूहमा १०२ दशमलव ८ अंकले बढेको छ । होटल समूहमा ६० दशमलव ६७ अंकले, लघुवित्त समूहमा २२ दशमलव ८९ अंकले वृद्धि भएको छ । साथै, वाणिज्य बैंक समूहमा छ दशमलव ३ अंकले वृद्धि भएको छ ।