कुनै बेलाका कट्टर दुश्मन ट्रम्प र किमको ऐतिहासिक भेट (भिडियोसहित)

Advertisement

सिंगापुरः कुनै बेला कट्टर दुश्मनको रुपमा रहेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच पहिलो पटक ऐतिहासिक भेटवार्ता भएको छ । बहुप्रतिक्षित शिखर वार्ताका लागि आइतबार सिंगापुर पुगेका दुवै नेताले तोकिएकै समयमा स्थानीय समयानुसार बिहान ९ बजे भेटवार्ता गरेका हुन् । भेटमा ट्रम्पले बोलिरहेको देखिए पनि किमले प्रतिउत्तरमा कुनै जवाफ दिन सकिरहेका देखिनन्न ।

Advertisement

लामो समयदेखि विश्वजगतसँग सम्वन्ध टुटाएर मुलुकभित्र सीमित रहँदै आएका उत्तर कोरियाली नेताहरुमा किमले पहिलो पटक चिनियाँ राष्ट्रपति हुँदै छिमेकी दक्षिण कोरियाली राष्ट्रपति र अहिले अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट गरेका हुन ।
शिखर वार्ताअघि सेन्तोसा द्विपको सुविधासम्पन्न पाँचतारे होटल कापेलामा उनीहरुले हात मिलाएका थिए। दुवै राष्ट्रका झण्डा टाँगिएको स्थानमा हात मिलाएपछि किम र ट्रम्प होटलको पुस्तकालयमा बसेर केहीबेर भलाकुसारी गरेका थिए । नेता किमले अंग्रेजी भाषा कम मात्रै बुझ्ने भएकोले दुवै नेताका बीचमा लामो भलाकुसारी भने भएको थिएन । भेटका क्रममा दुवै नेता हर्षित मुद्रामा देखिन्थे ।

प्रारम्भिक भेटपछि दुवै नेता सामुहिक वार्तामा बस्नेछन्। सामूहिक भेटवार्तापछि दुवै नेताकाबीचमा एक्ला–एक्लै भेटवार्ता हुनेछ । एक्ला–एक्लै भेटवार्तामा उनीहरु बाहेक भाषा अनुवादक मात्रै सहभागी हुनेछन् । त्यसपछि विभिन्न दुई पक्षीय भेटवार्ता र खाना खानेलगायतका कार्यक्रमहरु तय भएका छन्।

शिखर वार्ताले उत्तर कोरियाको आणविक कार्यक्रम तथा क्षेप्यास्त्र परिक्षणलाई समाप्त गर्न निश्चित प्रक्रियाको सुरुवात गर्नेमा अमेरिका आशावादी रहेको छ । पछिल्लो १८ महिनादेखि रहँदै आएको तनाव तथा आरोप–प्रत्यारोपलाई पन्छ्याउँदै दुवै नेता ऐतिहासिक भेटवार्ताका लागि आमने–सामने भएका हुन् ।
यसैबीच शिखर वार्ता लगत्तै राष्ट्रपति ट्रम्प अमेरिका फर्किने भएका छन्। अपेक्षा गरिएभन्दा चाँडै उनी वार्ता भएकै दिन बेलुका स्वदेश फर्किन तयार भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सोमबार जनाएको थियो। वार्ता सकिने बित्तिकै ट्रम्प बेलुका ८ बजे सिंगापुरबाट अमेरिका प्रस्थान गर्ने बताइएको छ।

Advertisement

Advertisement