सत्ताधारी दलकै नेताबाट सरकार र बजेटको आलोचना

Advertisement

काठमाडौंः सत्ताधारी दल नेकपाका स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले सरकारले परम्परागतभन्दा अर्को नयाँ आयाम थप्ने बजेट ल्याउन नसकेको आरोप लगाएका छन् ।

मंगलबार रिपोर्टर्स क्लबमा मंगलबार उनले भने, ‘बजेटमार्फत समग्र राष्ट्र निर्माणको मार्गचित्र आउनुपर्दथ्यो, तर यो बजेटले त्यस्तो महशुस गराउन सकेन, बजेटले जनतालाई उत्साहित बनाउन सकेको छैन ।’

रायमाझीले सरकारले समृद्धिको कुरा गरे पनि अहिलेसम्म यसको कार्यशैली हेर्दा आफू त्यति सन्तुष्ट नभएको सुनाए । उनले भने, ‘म सरकारको काम गर्ने शैलीबाट सन्तुष्ट छैन । तर, म आशावादी छु ।’ उनले पटक–पटक सरकारले हालै ल्याएको यो बजेटको समर्थन गर्ने आधार नै नभएको जिकिर गरे ।

रायमाझीले मुलुक यतिवेला संविधान कार्यान्वयनको बाटोमा अघि बढिरहेकोले विकार र समृद्धिको लागि अहिले सरकारसँग पर्याप्त बहुमत र उपयुक्त वातावरण रहेको उनको भनाई थियो । उनले भने, ‘अहिलेको सरकारसँग दुई तिहाईभन्दा बढि बहुमत छ । काम गर्न सक्ने वातावरण छ । सरकारलाई कुनै बाधा तथा अड्चन छैन् ।’

फरक प्रसँगमा रायमाझीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच भएको वार्ता सुखद भएको प्रतिक्रिया दिए । उनले भने, ‘यी दुई नेताहरुको वार्ताले नेपालको समृद्धिमा पनि सहजता प्रदान गर्छ ।’ यद्यपी नेता रायमाझीले अहिलेको विश्व अलिक बढि निरंकुशतातर्फ ढल्किरहेको पनि बताए ।

नेता रायमाझीले ट्रम्प र किमबीचको वार्ताको मुख्य सुरक्षामा गोरखा फौज खटिनु गौरवको विषय भएको बताए । उनले भने, ‘यो नेपालीहरुलाई विश्वास गरिएको कुरा हो । हामी सबैको लागि खुशीको कुरो हो ।’

Advertisement

Advertisement

Advertisement