नेपालमा मोबाइल मेनेजमेन्ट गर्न १३ विदेशी कम्पनीको आवेदन

काठमाडौंः नेपाल दुरसञ्चार प्राधिकरणले मोबाइल डेभाइस मेनेजमेन्ट सिस्टम (एमडीएमएस) को आशयपत्र मागेकोमा १३ विदेशी कम्पनीले इच्छा देखाएका छन् । झन्डै एक अर्ब लगानीमा टेलिकमले यस्तो सञ्चार योजना सञ्चालन गर्न लागेको हो ।

मोबाइलको प्रयोग ब्यापक बन्दै गएपछि सेटलाई नै सनयमन गर्न यस्तो सिस्टम ल्याएको हो । यसप्रकारको सिस्टम विदेशमा पुरानो र लोकप्रीय भए पनि नेपालमा भने प्रयोगमा आएको छैन ।

nic-asia-ad

प्रवक्ता मिनप्रसाद अर्यालले आगामी आर्थिक वर्षभित्र यो सिस्टम ल्याइसकिने बताए । यो सिस्टम लागु भएपछि देशभर सञ्चालित सबै मोबाइलसेट सरकारी निगरानीमा रहने उनको दाबी थियो ।

मोबाइल आयात नियन्त्रण र अवैध रुपमा आयात भएका मोबाइललाई ब्लक तथा पुर्णरुपमा नियन्त्रण गर्न समेत यो सिस्टम उपयोगि हुने उनको भनाइ थियो । यो सिस्टम लागु भएपछि आपराधिक कृयाकलापमा प्रयोग भएको मोबाइल ट्रयास गर्न सजिलो हुनुका साथै आपराधिक गतिविधिलाई पनि निरुत्साहित गर्ने उनले प्रष्ट्याए ।

यो सिस्टमका लागि आशयपत्र हालेका १३ मध्ये अहिले छ कम्पनीलाई सर्ट लिस्टमा राखिने छ । उक्त छ वटा कम्पनीसँग आर्थिक तथा प्राविधिक प्रस्ताव मागिने छ, जुन कम्पनीले उत्कृष्ट प्रस्ताव गर्ने कम्पनीलाई यसको ठेक्का दिइने प्राधिकरणले जानकारी दिएको छ ।

देशभर प्रयोग भएका सेटहरुलाई यो सिस्टमले तिन प्रकारमा बाँड्ने छ । बैधानिक रुपमा प्रश्न नउठेका मोबाइल ‘ह्वाइट लिस्ट’, हराएका र बैधानिक प्रश्न उठेका मोबाइल ब्ल्याक लिस्ट (कालोसूची) र नक्कली आईएमअमई राखेर दर्ता गरिएका सेटलाई ग्रे–लिस्टमा राखिने छ । यो सिस्टम प्रयोगमा आएपछि अवैधरुपमा आयात र प्रयोग गरिएका सेटमा सिम नै चल्ने छैन ।