माग पूरा नगरे लिखुखोलाको काम ठप्प पर्ने जलविद्युत विस्थापितको चेतावनी

Advertisement

काठमाडौंः लिखुखोला जलविद्युत परियोजनाका विस्थापितहरुले १५ दिनभित्र स्थानीय बासिन्दाका मागहरु सम्बोधन नगरे आयोजनाको सम्पूर्ण काम नै ठप्न पार्ने चेतावनी दिएका छन् ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिका र रामेछापको उमाकुण्ड गाउँपालिकाका स्थानीय बासिन्दाले पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएका हुन् । सडक निर्माण गर्दा डिपिआर अनुसार गरिनुपर्ने, परियोजना प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक रोजगारी दिनुपर्ने, स्वास्थ्य, शिक्षा भौतिक पूर्वाधार सहित ५० शैयाको अस्पताल निमार्ण गर्नुपर्ने, समाजिक वातावरणमा देखिएको विकृतिको अन्त्य गर्नुपर्ने, जग्गाको मुल्य पारदर्शी हुनुपर्ने लगायतका २० बुँदे मागहरु उनीहरुले अघि सारेका छन् ।

आफूहरुले अघि सारेका मागहरु सम्बोधन नगरे आयोजना निर्माण कार्य नै ठप्प पार्ने विस्थापितहरुको चेतावनी थियो । स्थानीयबासी विनोद कार्कीले आफूहरुको मागहरु सम्बोधन नभएसम्म परियोजनाको निर्माण कार्य रोकिदिने चेतावनी दिए ।

उनले भने, ‘मैले एमभी दुगड गु्रपसँग पनि भनेको छु । स्थानीयका मागहरु सम्बोधन गरेर योजना सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा पहिलो पंक्तिमा उभिन सक्छु । यदि स्थानीयका मागहरु सम्बोधन नभएको खण्डमा आयोजना रोकिनुपर्छ भनेर पहिलो पंक्तिमा उभिन तयार छु । समयमै सचेत भएर काम गर्नुहोस् भनेको छु । कम्पनीले केही गल्ति गरिसकेको छ । यसरी गल्ती गर्दै जाने हो भने स्थानीय चुप लागेर बस्दैनन् ।’

कम्पनीले केही मानिसलाई झुक्याएर आयोजना सम्पन्न गर्न खोजेको कार्कीको आरोप छ । उनले भने, ‘त्यो मुर्खता हो । ९९ प्रतिशत जनतालाई योजनाको बारेमा सार्वजनिक सुनुवाई गरिएको जानकारी छैन् । गरिबलाई रोजगार दिने भनेर जग्गा कब्जा गर्ने र आफ्नो नाममा सार्ने काम भएको छ । चितवन, सप्तरीका मानिसहरुको नाममा जग्गा दर्ता गर्ने र गरिबहरुको उठिबास गराउने योजना हामीलाई चाहिएको छैन् । अरु पनि यस्ता कम्पनीहरु छन् ।’

काँग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुका निवर्तमान सभापति आङ्गेलु शेर्पाले परियोजनासँग जोडिएका सबै कुराहरु पारदर्शिताका साथ स्थानीय जनताहरुमा जानकारी हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘लिखुखोला विद्युत परियोजना बन्नुपर्छ भन्नेमा दुईमत छैन् । तर, त्यस परियोजनाबाट विस्थापित हुनुपर्नेहरुको लागि सरकार र स्वय कम्पनीले सोच्नुपर्छ । कम्पनीले कुनै पनि आयोजनाहरु सम्पन्न गर्दाखेरि सामाजिक उत्तरदायित्व कोष निर्माण गरेको हुन्छ । त्यस अन्तर्गतको अधिकार स्थानीयले लिनुपर्छ । यदि कम्पनीले स्थानीयलाई हेप्ने र चेप्ने खालका कार्य गर्छ भने त्यसको चौतर्फी बिरोध हुन्छ ।’

कार्यक्रमको अध्यक्षता गरेका शुभराम बस्नेतले परियोजनाले स्थानीय बासिन्दाहरुको धैर्यतामाथि कुठाराघात गरेको आरोप लगाए । उनले भने, ‘हामीलाई सोझा देखेर हेप्न खोज्दैछ । धनीहरुको जग्गाको एउटा मुल्य छ । गरिबहरुको जग्गाको मुल्य एउटा छ, यो कसरी हुन सक्छ ? अहिले जनतासँग बिभिन्न बाहनामा सस्तोमा जग्गा आफ्नो नाममा पार्ने र शेयर हाल्ने अवस्थामा आफ्नो नाममा राखिएको जग्गा देखाएर आफू बन्ने खेल हुँदैछ ।’

परियोजनाबाट प्रभावित स्थायनीवासीको नाममा जारी गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘परियोजनाका कर्मचारीबाट स्थानीय युवतीमाथि दुव्र्यवहार, बलात्कारजस्ता अति निकृष्ट काम भइरहेको पनि यहाँ अवगत गराउँछौं ।’

Advertisement

Advertisement

Advertisement