गरिबी निवारणमा कोषको २० करोड लगानी

Advertisement

रोल्पाः आर्थिक सशक्तीकरणमार्फत गरिबी निवारण गर्ने लक्ष्यका साथ २०६१ सालदेखि सुरु भएको गरिबी निवारण कोषले रोल्पाका विपन्न परिवारको आयआर्जनका लागि २० करोड रुपियाँ बढी लगानी गरेको छ ।

गरीब विपन्न परिवारको आयआर्जनका लागि कोषले सामुदायिक संस्थालाई अनुदान दिने गर्दछ भने सामुदायिक संस्थाले न्यून ब्याजदरमा ऋण उपलब्ध गराउने गर्दछन् ।

सदस्यको मागका आधारमा तरकारीखेती, बाख्रापालन, भैँसीपालन, कुखुरापालन, च्याउखेती, सिलाइकटाइ, खुद्रा पसलजस्ता शीर्षकमा ऋण दिने गरेको गरिबी निवारण कोषले जनाएको छ ।

जिल्लामा गठन भएका ६१४ सामुदायिक संस्थामा आयआर्जनका लागि २० करोड रुपियाँ दुई लाख बढी रकम गएको गरिबी निवारण कोष रोल्पा प्यूठानका कार्यप्रबन्धक वेगम घर्तीले जानकारी दिए । सामुदायिक संस्थाले आफैँ नियम बनाएर रकम घुम्तीकोषका रुपमा परिचालन गर्ने गरेका छन् घर्तीले भने ।

कोषले उपलब्ध गराएको रकम समूहका सदस्यलाई लगानी गरी ब्याजबापत हालसम्म सामुदायिक संस्थाले पाँच करोड रुपियाँ बढी आम्दानीसमेत गरिसकेको बताइएको छ ।

कोषबाट प्रत्यक्ष अप्रत्यक्ष लाभान्वित हुनेको संख्या १७ हजार बढी रहेको बताइएको छ । तरकारी खेती र बंगुरपालनका लागि आफूले कोषबाट लिएको ऋणले अहिले वार्षिक दुई लाख रुपियाँ आम्दानी गर्दै आएको रोल्पा त्रिवेणी–७ की लालसरी घर्तीले बताए ।

ऋण सही ठाउँमा सदुपयोग गरे व्यवसाय पनि विस्तार हुँदै जाने उनको अनुभव छ । साहु महाजनबाट चर्को ब्याजदरमा ऋण लिनुपर्दा गरीब कहिल्यै उस्कन नसक्ने उनले बताए ।

बैंकले ग्रामीण क्षेत्रमा ऋण लगानी गर्न नमान्ने भएकाले आफूहरूले सामुदायिक संस्थाले प्रदान गर्ने ऋणबाट गर्जो टारिरहेको घर्तीले बताए ।

कोषबाट परिचालित बजेटको ठूलो हिस्सा सामुदायिक संस्थामा रहेकाले त्यसको सही व्यवस्थापन र पारदर्शीतामा ध्यान दिनुपर्ने जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले बताए ।

स्वरोजारमूलक कार्यक्रमले युवा पलायनलाई पनि रोक्न सक्ने भएकाले कोषको रकमलाई सहकारीकरण गर्न जरुरी रहेको बुढाको सुझाव छ ।

Advertisement

Advertisement

Advertisement