प्रधानमन्त्री ओली चार पावरफुल मन्त्रीहरु बोकेर चीन जाने

Advertisement

काठमाडौंः प्रधानमन्त्री केपी ओलीले आगामी असार ५ गतेदेखि चीनको औपचारिक भ्रमण गर्ने भएका छन् । भारतको भ्रमणलगत्तै चीन जाने बताइए पनि उनको भ्रमण ढिलो गरी तय भएको छ ।

आफ्नी धर्मपत्नी राधिका शाक्यसहित चार पावरफुल मन्त्रीहरुलाई चीन लैजाने तयारी गरेका ओलीले यस पटकको भ्रमणमा इन्धन आयातदेखि रेलमार्ग निर्माण, सीमा नाकाहरुको सञ्चालन तथा स्तरोन्नती, उर्जा विकास जस्ता विषयमा महत्वपूर्ण सम्झौताहरु हुने ओलीका सहयोगीहरुले बताउँदै आएका छन् ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जा, जलस्रोतमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सांसदहरु सहभागी हुँदैछन् ।

भ्रमणका क्रममा ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुका साथै चीनका वरिष्ठ नेताहरुसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनले नेपाल–चीन व्यापारिक मञ्च तथा विद्वत समूहलाई बेइजिङमा सम्बोधन गर्नेछन् । भ्रमणकै सिलसिलामा ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्ने कार्यक्रम तय गरिएको छ ।

परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले चीनका राष्ट्रपति सी चिनफिङले अघि सारेको ‘एक क्षेत्र एक मार्ग (बीआरआई)’ अन्तर्गत पूर्वाधार निर्माण, लगानी आकर्षण, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा द्विपक्षीय छलफल र समझदारीपत्रमा समेत हस्ताक्षर हुने जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement