पोखरामा महिला उद्यमीहरूको राष्ट्रिय भेला सुरू, चर्को ब्याजदरले व्यवसायी मर्कामाः गोल्छा

Advertisement

काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यमी विकास समितिको समन्वय र पोखरा उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास उपसमितिको आयोजनामा बुधबारदेखि पोखरामा महिला उद्यमीहरूको राष्ट्रिय भेला तथा उद्यमी मेला २०७५ शुरु भएको छ ।

“आर्थिक समृद्धिका लागि महिला उद्यमशीलता” भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रमको प्रदेश नं. ४ की उपसभामुख सिर्जना शर्माले उदघाटन गरिन । महिला उद्यमीहरूको उद्यमशलीता तथा क्षमता विकास, सीप विकास, बजार प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले विदेशिन बाध्य ४० लाख युवाहरूले पठाएको रेमिट्यान्सबाट मुलुकको अर्थतन्त्र चलाउनु परेको भन्दै स्वदेशमा नै युवाहरूलाई उद्यम, रोजगार सिर्जना गर्ने वातावरण निर्माण गर्न आग्रह गरे ।

उनले उद्यमको लागि उपयुक्त जग्गा सहजरुपमा उपलब्ध हुनुपर्ने, बैंकको बढ्दो व्याजदरले महिला उद्यमीहरू समेतलाई मर्का परेकोले कम व्याजदरमा सहुलियत ऋण दिन सके मुलुकभित्र महिला उद्यमशीलता फस्टाउने बताए ।

औद्योगिक व्यवसायिक ऐनले महिला उद्यमीलाई स्थान दिएको तर आर्थिक ऐनमा महिला उद्यमीहरू बारे केही उल्लेख नभएको भन्दै गोल्छाले ऐन नियममा एकरुपता ल्याउनुपर्ने बताए । उनले कुनै पनि उद्यमी व्यवसायीले आफ्नो क्षेत्रमा सफलता प्राप्त गर्नका लागि निरन्तरताको साथै निरन्तररुपमा ज्ञान हासिल गरिराख्नुपर्ने बताए ।

महासंघको महिला उद्यमी विकासका समितिका सभापति कमला श्रेष्ठले ७ वटै प्रदेशका महिला उद्यमीहरूबाट उत्पादित वस्तुहरूको प्रचार प्रसार एवं बजारीकरण गर्ने उद्देश्यका साथ आयोजना भएको यस मेलाबाट महिला उद्यमीहरूबाट उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन र उद्यमशीलता प्रवद्र्धनमा सहयोग पुग्ने बताइन ।

महिला उद्यमी मेला चार दिनसम्म संचालन हुने छ । मेलामा महिला उद्यमशीलता विकास, महिला उद्यमीहरूको लागि बैकिङसम्बन्धी भएका व्यवस्था, कर शिक्षा, इन्टरनेट आदि विभिन्न विषयहरूमा गोष्ठी समेत संचालन हुनेछन् ।

Advertisement

Advertisement

Advertisement